खेमराज भट्ट, फागुन २०
काठमाडौँ — धनुषा, २०८२ फागुन ११ — निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत धनुषा क्षेत्र नं. १ का उम्मेदवार किशोरी साह कमलसँग स्पष्टीकरण मागेपछि राजनीतिक वृत्तमा तरंग उत्पन्न भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट पहिलो हुने निर्वाचित हुने प्रणालीमा मनोनयन दर्ता गराएका कमल र उनको स्वामित्वमा रहेको कमल निर्माण सेवा प्रा.लि. कालोसूचीमा सूचीकृत रहेको दाबी गर्दै उम्मेदवारी खारेजको मागसहित उजुरी परेपछि आयोगले आवश्यक विवरण स्पष्ट गरी मिति ११/१४ भित्र पेश गर्न निर्देशन दिएको हो।
आयोगका शाखा अधिकृत (कानून) अरुण अधिकारीद्वारा जारी पत्रमा “के कसो भएको हो? स्पष्ट खुलाई पठाइदिनु” भनी निर्णयानुसार आग्रह गरिएको उल्लेख छ। बोधार्थस्वरूप जिल्ला निर्वाचन कार्यालय, धनुषालाई सम्बन्धित उम्मेदवारलाई पत्र तामेली गरिदिन अनुरोध गरिएको छ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैर्हेले प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको पुष्टि गर्दै भने, “आयोगले कानुनी प्रावधानअनुसार स्पष्टीकरण मागेको हो, प्राप्त जवाफका आधारमा थप निर्णय हुनेछ।”
उम्मेदवार कमल पक्षले भने उजुरीबारे आधिकारिक पत्र प्राप्त गरी कानुनी प्रक्रियाअनुसार तथ्यसहित जवाफ दिने तयारी भइरहेको जनाएको छ।
निर्वाचन आचारसंहिता र कानुनी प्रावधानको पालनासँगै निष्पक्ष निर्णय हुने अपेक्षामा धनुषा–१ मा राजनीतिक सरगर्मी चुलिएको छ। आयोगले उजुरीमाथि छानबिन अघि बढाएको सन्देशसँगै पारदर्शिता र विश्वसनीयता कायम गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
अब सबैको नजर आयोगको निर्णयतर्फ केन्द्रित छ।
