हेमा भट्ट,बैशाख २५
कञ्चनपुर प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै बेदकोट नगरपालिका-१ चम्पापुरबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
मिति २०८३ साल वैशाख २४ गते अस्थायी प्रहरी बिट चम्पापुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद गतिविधिका आधारमा चेकजाँच गर्ने क्रममा स्थानीय निरज शाह र नबिन पनेरुलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरुको साथबाट लुकाइछिपाइ राखिएको शुद्ध तौल ५ ग्राम ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने खैरो पदार्थ बरामद गरिएको छ।
प्रहरीले बरामद पदार्थ कानुनी प्रक्रिया अनुसार नियन्त्रणमा लिई दुवै जनामाथि थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबार र दुर्व्यसन बढ्दै गएको अवस्थामा कञ्चनपुर प्रहरीले निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाएको देखिन्छ।
लागूऔषध केवल कानुनी अपराध मात्र नभई समाज, परिवार र युवापुस्ताको भविष्यसँग जोडिएको गम्भीर चुनौती हो। थोरै लापरवाहीले जीवन नै अन्धकारतर्फ धकेलिन सक्ने भएकाले सचेतना, परिवारको निगरानी र समाजको सहकार्य अत्यन्त आवश्यक देखिन्छ।
युवाशक्तिलाई सकारात्मक सोच, शिक्षा, खेलकुद र सिर्जनात्मक गतिविधितर्फ प्रेरित गर्न सके मात्र समाजलाई लागूऔषधको जालोबाट जोगाउन सकिने सरोकारवालाहरूको भनाइ छ।
“लागूऔषधको दुर्व्यसनबाट आफू पनि जोगिऔं, अरूलाई पनि जोगाऔं” भन्ने सन्देशलाई व्यवहारमै उतार्नु आजको आवश्यकता बनेको छ।
