६५ हराएका सवारी फेला पार्दै नागरिकको मन जित्दै एसएसपी नवराज अधिकारी

खेमराज भट्ट, बैशाख २६
काठमाडौँ उपत्यकामा बढ्दो सवारी चोरी नियन्त्रण तथा हराएका सवारी साधन खोजी अभियानलाई प्रभावकारी बनाउँदै नवराज अधिकारी नेतृत्वको ट्राफिक प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी तथा हराएका ६५ वटा मोटरसाइकल र स्कुटर खोजी गरी सम्बन्धित धनीलाई विशेष कार्यक्रममार्फत हस्तान्तरण गरेको हो। कार्यक्रममा कार्यालय प्रमुख एसएसपी नवराज अधिकारी स्वयंले सेवाग्राहीलाई सवारी साधन हस्तान्तरण गरेका थिए।

उपत्यकाका विभिन्न स्थानमा सादा पोसाकमा परिचालित विशेष प्रहरी टोलीको सक्रिय परिचालन, निगरानी तथा सूचनाको प्रभावकारी समन्वयका कारण हराएका सवारी साधन खोजी अभियान सफल बन्दै गएको छ। पछिल्लो समय आधुनिक प्रविधिको प्रयोगमार्फत चोरी भएका सवारी साधन फेला पार्ने कार्यमा ट्राफिक प्रहरीले उल्लेखनीय उपलब्धि हासिल गरिरहेको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपी नवराज अधिकारीले नागरिकको सम्पत्ति सुरक्षित गर्नु प्रहरीको पहिलो दायित्व भएको बताएका थिए। उनले चोरी भएका सवारी साधन खोजी अभियानलाई अझ परिणाममुखी बनाइने उल्लेख गर्दै आधुनिक प्रविधि, सूचना संयन्त्र र प्रहरी परिचालनलाई थप मजबुत बनाइने बताए।

उनले सवारी धनीहरूलाई आवश्यक कागजात सुरक्षित राख्न, पार्किङ गर्दा विशेष सावधानी अपनाउन तथा कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरे। साथै, सवारी सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्न आगामी दिनमा पनि विभिन्न अभियान सञ्चालन गरिने जानकारी दिए।

लामो समयदेखि हराएका आफ्ना मोटरसाइकल तथा स्कुटर पुनः प्राप्त गरेपछि धेरै सेवाग्राही भावुक बनेका थिए। कार्यक्रममा उपस्थित सवारी धनीहरूले एसएसपी नवराज अधिकारीको नेतृत्व, ट्राफिक प्रहरीको सक्रियता तथा नागरिकमैत्री सेवाप्रति आभार व्यक्त गरेका थिए। कतिपयले हराइसकेको आशा मारिसकेको सवारी साधन पुनः प्राप्त गर्दा खुसीसँगै भावुक बनेको प्रतिक्रिया दिएका थिए।

एसएसपी नवराज अधिकारीको नेतृत्वमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले पछिल्लो समय चोरी नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा हराएका सवारी साधन खोजी अभियानलाई प्रभावकारी रूपमा अघि बढाउँदै नागरिकको विश्वास जित्न सफल भएको भन्दै सर्वसाधारणबाट समेत प्रशंसा भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply