हेमा भट्ट,
कैलाली – नवजीवन सहकारी संस्था लिमिटेड धनगढीको ३२औँ वार्षिक साधारण सभा–२०८३ अन्तर्गत सञ्चालक समिति सदस्य पदका उम्मेदवार सुरज बहादुर रैका सहकारी क्षेत्रमा सुधार, पारदर्शिता र युवा नेतृत्वको नयाँ आशाका रूपमा चर्चामा आएका छन्।
लामो समयदेखि सामाजिक सेवा, युवा सशक्तिकरण र समुदायमुखी गतिविधिमा सक्रिय रहँदै आएका रैकाले स्थानीयस्तरमा इमानदार, कर्मशील र दूरदर्शी युवा नेतृत्वको पहिचान बनाएका छन्। सहकारीमा सुधार र नयाँ सोच आवश्यक रहेको वर्तमान अवस्थामा उनको उम्मेदवारीलाई सदस्यहरूले सकारात्मक परिवर्तनको संकेतका रूपमा लिएका छन्।
सहकारी संस्था नवजीवन सहकारी संस्था लिमिटेड भित्र पछिल्ला वर्षहरूमा देखिएका व्यवस्थापकीय चुनौती, सदस्य सेवामा ढिलाइ तथा पारदर्शितासम्बन्धी प्रश्नहरू समाधान गर्न सक्षम नेतृत्वको आवश्यकता बढिरहेको सरोकारवालाहरू बताउँछन्।
उम्मेदवार रैकाले सहकारीलाई केवल वित्तीय कारोबारको संस्था नभई सदस्यहरूको आर्थिक तथा सामाजिक उत्थानको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित आफ्नो एजेन्डा सार्वजनिक गरेका छन्। उनले पारदर्शिता, जवाफदेहिता, आधुनिक व्यवस्थापन प्रणाली, डिजिटल सेवा विस्तार तथा सदस्य–केन्द्रित नीतिलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी, युवालाई स्वरोजगारतर्फ उन्मुख गर्ने, सीप विकास तालिम विस्तार गर्ने र उद्यमशीलता प्रवर्द्धन गर्ने योजना उनले अघि सारेका छन्। महिलाको आर्थिक सशक्तिकरण, बचत संस्कृतिको विकास तथा विपन्न वर्ग लक्षित कार्यक्रमलाई पनि प्राथमिकतामा राख्ने उनले बताएका छन्।
उनले सहकारीभित्र ऋण व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित बनाउने, सदस्यहरूको पहुँच सहज बनाउने तथा निर्णय प्रक्रियालाई खुला र उत्तरदायी बनाउने विषयमा विशेष जोड दिने बताएका छन्। डिजिटल बैंकिङ सेवा विस्तार र मोबाइल एपमार्फत सेवा प्रवाहलाई सरल बनाउने उनको योजना पनि चर्चामा छ।
समाजसेवा, शिक्षा, खेलकुद तथा विपन्न सहयोग अभियानमा सक्रिय रैका समुदायमा सकारात्मक छवि बनाउँदै आएका छन्। स्थानीय युवादेखि ज्येष्ठ सदस्यसम्मले उनलाई “नयाँ सोच र सुधारमुखी नेतृत्व” का रूपमा समर्थन जनाइरहेका छन्।
उनले भनेका छन्, “सहकारीलाई सदस्यको जीवनस्तर सुधार्ने साझा परिवारका रूपमा विकास गर्नु मेरो लक्ष्य हो। पारदर्शिता र इमानदारीलाई आधार बनाएर काम गरे मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ।”
स्थानीय सरोकारवालाहरूका अनुसार सहकारी क्षेत्रमा पछिल्ला वर्षहरूमा देखिएका चुनौतीहरू समाधान गर्न सक्षम, ऊर्जावान र जवाफदेही नेतृत्वको आवश्यकता महसुस भइरहेको छ। यस्तो अवस्थामा रैकाको उम्मेदवारीले सहकारीभित्र स्वस्थ प्रतिस्पर्धा, सुशासन र संस्थागत सुधारको वातावरण थप मजबुत बनाएको बताइएको छ।
त्यस्तै, आगामी निर्वाचनलाई लिएर सदस्यहरूमा उत्साह बढ्दै गएको छ। सहकारीको दीर्घकालीन विकास, सदस्य हित संरक्षण र आर्थिक सुदृढीकरणका विषयमा उठाइएका एजेन्डाले सकारात्मक बहस सिर्जना गरेको छ।
समर्थकहरूको भनाइमा, यदि रैकाले नेतृत्व अवसर पाएका खण्डमा नवजीवन सहकारीलाई अझ आधुनिक, पारदर्शी र सदस्य–केन्द्रित संस्थाका रूपमा अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।
