सहकर्मीको मानवीय उदाहरण : मृतक प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान महताको परिवारलाई ४ लाखभन्दा बढी आर्थिक सहयोग

कञ्चनपुर, ६ वैशाख
सुदूरपश्चिमस्थित कैलालीको सशस्त्र प्रहरी बल तालिम केन्द्रमा कार्यरत अधिकृत तथा कर्मचारीहरूले मानवीय संवेदनशीलताको उदाहरण प्रस्तुत गर्दै मृतक प्रशिक्षार्थी सशस्त्र प्रहरी जवान महेश सिंह महताको परिवारलाई आर्थिक सहयोग गरेका छन्।

दार्चुलाको नौगाड गाउँपालिका–१ निवासी महता सशस्त्र प्रहरी बल नेपाल जवान आधारभूत शिक्षालय बनबेहडामा तालिमरत अवस्थामा रहेका प्रशिक्षार्थी जवान थिए। देशको सुरक्षा र सेवामा समर्पित हुने सपना बोकेर तालिममा सहभागी भएका महताको गत २१ वैशाख २०८३ मा उपचारकै क्रममा दुःखद निधन भएको थियो। तालिमका क्रममा अचानक टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएपछि उपचारका लागि लगिएको भए पनि उनलाई बचाउन नसकिएको जनाइएको छ।

उनको असामयिक निधनले परिवार मात्रै होइन, तालिम केन्द्रका सहकर्मी, प्रशिक्षक तथा सम्पूर्ण सशस्त्र प्रहरी परिवारलाई भावुक बनाएको थियो। सहकर्मीको अभाव र अधुरो सपनाले स्तब्ध बनेका अधिकृत तथा कर्मचारीहरूले शोकमा मात्रै सीमित नरही मानवीय सहयोगमार्फत परिवारलाई साथ दिने निर्णय गरेका थिए।

सोही अनुसार तालिम केन्द्रमा कार्यरत अधिकृत तथा कर्मचारीहरूले आफ्नै खाजा खर्च कटाएर स्वेच्छिक रूपमा रकम संकलन गरेका थिए। यसरी संकलित ४ लाख १२ हजार ७४० रुपैयाँ मृतक जवान महताको परिवारलाई हस्तान्तरण गरिएको हो।

मंगलबार महताको १५औँ दिनको पुण्यतिथिको अवसर पारेर आयोजित कार्यक्रममा तालिम केन्द्रका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सूर्य बहादुर सेनओलीले मृतकका ठुलोबुबा धन सिंह महतालाई उक्त रकम हस्तान्तरण गरेका थिए। कार्यक्रममा उपस्थित अधिकृत, जवान तथा तालिमरत सहकर्मीहरूले मृतक महताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।

कार्यक्रममा समवेदना पत्र समेत हस्तान्तरण गरिएको थियो। सहकर्मीहरूले महताको इमान्दारिता, अनुशासन र देशसेवाप्रतिको समर्पणलाई सम्झँदै उनको सपना अधुरो रहे पनि त्यस्तो समर्पित युवाको योगदान सधैं सम्मानपूर्वक स्मरण गरिने बताएका थिए।

सशस्त्र प्रहरी संगठनभित्र देखिएको यस्तो आत्मीयता र सहकार्यले संस्थागत मानवीय सम्बन्ध अझ बलियो बनेको स्थानीयले बताएका छन्। दुःखको घडीमा सहकर्मीहरूले देखाएको साथ र सहयोगले मृतक परिवारलाई केही राहत मिल्नुका साथै संगठनभित्रको अपनत्व र एकताको सन्देश समेत दिएको छ।

देशको सेवा गर्ने महान उद्देश्य बोकेका युवा महेश सिंह महताको सपना अधुरै रहे पनि उनको समर्पण, संघर्ष र सहकर्मीबीचको आत्मीय सम्बन्धले सबैलाई भावुक बनाएको छ। उनका सम्झना सशस्त्र प्रहरी संगठनभित्र सदैव जीवित रहने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply