ट्राफिक व्यवस्थापनमा नयाँ क्रान्ति : ‘Traffic Police Mirror 2026’ सार्वजनिक

खेमराज भट्ट, जेठ १८ काठमाडौं-नेपालमा ट्राफिक व्यवस्थापनलाई आधुनिक, प्रविधिमैत्री तथा प्रभावकारी बनाउने उद्देश्यका साथ तयार गरिएको ‘Traffic Police Mirror 2026’ एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा सम्पन्न “Integrated Traffic Management System सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी २०८३” को अवसर पारेर उक्त प्रकाशनको औपचारिक लोकार्पण गरिएको हो।

नेपाल प्रहरी संगठन प्रमुख दानबहादुर कार्की ले ‘Traffic Police Mirror 2026’ को लोकार्पण गर्दै ट्राफिक व्यवस्थापनको क्षेत्रमा यो प्रकाशन मार्गदर्शक दस्तावेजका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सुरक्षित, व्यवस्थित तथा प्रविधिमा आधारित सडक प्रणाली निर्माणका लागि ट्राफिक प्रहरीको भूमिका दिनप्रतिदिन महत्वपूर्ण बन्दै गएको उल्लेख गर्दै आधुनिक ट्राफिक व्यवस्थापनका लागि नवप्रवर्तन, अनुसन्धान र प्रविधिको उपयोग अपरिहार्य रहेको बताउनुभयो।

सो अवसरमा महानिरीक्षक कार्कीले ‘Traffic Police Mirror 2026’ निर्माणमा योगदान पुर्‍याउने ट्राफिक प्रहरी कर्मचारी, विभिन्न संस्था तथा व्यक्तित्वहरूलाई प्रशंसा-पत्र प्रदान गरी सम्मान समेत गर्नुभयो। ट्राफिक व्यवस्थापन सुधार, सडक सुरक्षा प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तिहरूको सम्मानले कार्यक्रमलाई थप विशेष बनाएको थियो।

कार्यक्रममा ईश्वर कार्की ले धन्यवाद मन्तव्य व्यक्त गर्दै आधुनिक ट्राफिक व्यवस्थापनका लागि प्रहरी, स्थानीय सरकार, यातायात व्यवसायी, निजी क्षेत्र र नागरिकबीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले ट्राफिक व्यवस्थापनलाई केवल प्रहरीको जिम्मेवारीका रूपमा नभई साझा दायित्वका रूपमा लिनुपर्ने धारणा राख्नुभयो।

त्यसैगरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी ले ‘Traffic Police Mirror 2026’ प्रकाशनको औचित्य, उद्देश्य तथा यसको दीर्घकालीन महत्वबारे प्रकाश पार्नुभएको थियो। उहाँले प्रकाशनले ट्राफिक व्यवस्थापनको वर्तमान अवस्था, चुनौती, उपलब्धि तथा आगामी रणनीतिहरूलाई समेटेको जानकारी दिनुभयो।

कार्यक्रममा ट्राफिक व्यवस्थापन र यातायात सुरक्षासम्बन्धी विषयमा विज्ञहरूको पनि सहभागिता रहेको थियो। राजेन्द्र प्रसाद त्रिपाठी तथा ट्राफिक विज्ञ सुनिल पौडेल ले आधुनिक ट्राफिक प्रणाली, डिजिटल प्रविधिको प्रयोग, स्मार्ट सहर अवधारणा तथा भविष्यका सम्भावनाबारे आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले डेटा-आधारित निर्णय प्रणाली, कृत्रिम बुद्धिमत्ता, डिजिटल निगरानी तथा स्मार्ट ट्राफिक पूर्वाधारको विकासमा जोड दिनुभएको थियो।

‘Traffic Police Mirror 2026’ ले विगतका अनुभव, संघर्ष र उपलब्धिहरूलाई समेट्दै ट्राफिक व्यवस्थापनको भावी मार्गचित्र प्रस्तुत गरेको छ। प्रकाशनमा ट्राफिक व्यवस्थापनको वर्तमान अवस्था, बढ्दो सवारी चाप, शहरीकरण, सडक सुरक्षाका चुनौती, प्रविधिको उपयोग, डिजिटल निगरानी प्रणाली, डेटा विश्लेषण तथा नागरिकमैत्री सेवाका विषयहरू समावेश गरिएका छन्। सहभागीहरूले यसलाई केवल एउटा प्रकाशन नभई नेपालको ट्राफिक व्यवस्थापनलाई आधुनिक युगतर्फ डोर्‍याउने रणनीतिक दस्तावेजका रूपमा व्याख्या गरेका छन्।

कार्यक्रममा ‘Traffic Police Mirror 2026’ सम्बन्धी वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो। वृत्तचित्रले ट्राफिक प्रहरीको जिम्मेवारी, समर्पण, चुनौती, दैनिक कार्यशैली तथा उपलब्धिहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेको थियो। सहभागीहरूले वृत्तचित्रमार्फत ट्राफिक प्रहरीको अथक मेहनत र सडक सुरक्षाप्रतिको प्रतिबद्धता झन् स्पष्ट रूपमा उजागर भएको बताएका छन्।

नेपालमा तीव्र रूपमा बढ्दो सवारी साधनको संख्या, सडक प्रयोगकर्ताको विस्तार र शहरीकरणका कारण ट्राफिक व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको अवस्थामा ‘Traffic Police Mirror 2026’ को प्रकाशनलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसले ट्राफिक प्रहरी मात्र नभई नीति निर्माता, सरोकारवाला निकाय, यातायात व्यवसायी तथा आम नागरिकलाई सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री यातायात प्रणाली निर्माणतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।

सडक सुरक्षाको अभियानलाई आधुनिक सोच, नवीन प्रविधि र दीर्घकालीन दृष्टिकोणसँग जोड्दै ‘Traffic Police Mirror 2026’ ले नेपालको ट्राफिक व्यवस्थापनलाई नयाँ उचाइतर्फ अघि बढाउने विश्वास व्यक्त गरिएको छ। आधुनिक ट्राफिक व्यवस्थापनको भविष्यको खाका बोकेको यो प्रकाशन आगामी दिनमा ट्राफिक क्षेत्रको सुधार, नीति निर्माण तथा प्रभावकारी कार्यान्वयनका लागि महत्वपूर्ण सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply