३० वर्षे स्वर्णिम यात्रा, विदाईपछि पाँच वर्षे पुनरागमन

कृष्ण केसी, साउन २६
शमशेरगञ्ज, बाँके – तीन दशकअघि कृषि विकास बैंकको सामुदायिक कार्यकर्ताका रूपमा सुरु भएको यात्रा, साना किसान अभियानको विस्तार, दर्जनौँ संस्थाको निर्माण, ऐतिहासिक एकीकरण र अष्टम साना किसान कृषि सहकारीलाई देशकै अग्रणी संस्थामध्ये एक बनाउने सफल नेतृत्वपछि एक कर्मठ व्यक्तित्वले औपचारिक रूपमा विदाई लिनुभएको छ। तर, ३० वर्षे सेवा अवधि पूरा गरी भावुक हुँदै विदाई लिएको केही समयमै संस्थाका अधुरा सपना, योजना र भावी लक्ष्य पूरा गर्ने जिम्मेवारीसहित उहाँलाई पुनः पाँच वर्षका लागि संस्थामा स्वागत गर्ने तयारी भएपछि विदाई कार्यक्रम उत्सव र पुनर्मिलनको विशेष क्षणमा परिणत भएको छ।

२०५२ साल भदौ १२ गते महादेवपुरी साना किसानबाट सेवा प्रवेश गर्नुभएका उहाँले २०८३ असार ३२ गतेसम्मको ३० वर्षे यात्रामा साना किसान अभियानलाई आफ्नो कर्मक्षेत्र मात्र होइन, जीवनकै महत्वपूर्ण अध्याय बनाउनुभयो। द्वन्द्वकालको जोखिम, आर्थिक मन्दी, विभिन्न सामाजिक तथा आर्थिक चुनौती र कोभिड–१९ महामारीजस्ता कठिन परिस्थितिमा समेत संस्थाको कारोबार र सेवाप्रवाहलाई निरन्तरता दिँदै उहाँले हजारौँ किसान परिवारको आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोडिएको अभियानलाई मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो।

२०६६ सालमा कोहलपुर र रझेनाको अनुसरण कार्यक्रमबाट सुरु भएको उहाँको संस्थागत विस्तारको यात्राले वनकटवा, टिटिहिरिया, बैजापुर, बिनाउना, सितापुर, खजुरा, रनियापुर र गनापुरलगायत क्षेत्रमा समेत गति लियो। शून्यबाट सुरु भएका १० वटा साना किसान संस्थाको निर्माण, व्यवस्थापन र सफल सञ्चालनमा उहाँको नेतृत्वदायी भूमिका रह्यो। ग्रामीण किसान, महिला, विपन्न तथा साना उद्यमीलाई वित्तीय पहुँचसँग जोड्दै सहकारीलाई केवल बचत तथा ऋणको माध्यम नभई उत्पादन, उद्यमशीलता र आत्मनिर्भरताको आधार बनाउने उहाँको सोचले अभियानलाई फरक उचाइमा पुर्‍यायो।

उहाँको स्पष्ट मान्यता थियो-“सहकारी संख्यात्मक मात्र होइन, गुणात्मक हुनुपर्छ।” यही सोचलाई व्यवहारमा उतार्दै २०८० जेठ १ गते आठ वटा साना किसान संस्था एकीकृत गरिए भने २०८२ मा थप तीन संस्था समेटिए। कुल ११ वटा संस्थाको ऐतिहासिक एकीकरणबाट ‘अष्टम साना किसान कृषि सहकारी’ निर्माण भयो। एकीकरणपछि संस्था कारोबार, सदस्य संख्या, पूँजी र संस्थागत संरचनाका हिसाबले साना किसान अभियानमै देशकै ठूलो संस्थाका रूपमा स्थापित हुन सफल भयो।

उहाँकै कार्यकालमा अष्टम साना किसान कृषि सहकारीले आर्थिक, सांगठनिक र भौतिक पूर्वाधारमा उल्लेखनीय फड्को मार्‍यो। संस्थामा १७ हजारभन्दा बढी शेयर सदस्य आबद्ध छन् भने शेयर पूँजी करिब २८ करोड रुपैयाँ, जगेडा कोष २४ करोड रुपैयाँ, बचत १ अर्ब ५८ करोड रुपैयाँ र ऋण लगानी २ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। संस्थाले करिब ८ करोड रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ भने ७० जना दक्ष कर्मचारीमार्फत सेवा प्रवाह भइरहेको छ।
संस्थागत विस्तारसँगै भौतिक संरचनामा समेत उल्लेखनीय प्रगति भएको छ। मुख्य कार्यालयसहित आफ्नै भवनमा सञ्चालित १४ वटा शाखा, दूध डेरी र राइस मिलसहित कुल १७ वटा कार्यालय तथा संरचना सञ्चालनमा छन्। यसले साना किसान सहकारीलाई बचत तथा ऋणमा मात्र सीमित नराखी कृषि उत्पादन, प्रशोधन, बजार र रोजगारीसँग जोड्ने प्रयासलाई समेत बलियो बनाएको छ।

अष्टम साना किसानको सफलतालाई राज्य तथा सहकारी क्षेत्रले समेत सम्मान गरेको छ। २०८० सालको सहकारी दिवसमा बाँके जिल्ला संघबाट उत्कृष्ट संस्थाको सम्मान प्राप्त गरेको संस्थाले २०८२ सालमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, लुम्बिनी प्रदेश र राष्ट्रिय सहकारी महासंघबाट समेत सम्मान प्राप्त गरेको थियो। यी सम्मानहरू संस्थागत उपलब्धिसँगै तीन दशक लामो नेतृत्व र योगदानको समेत प्रतिफलका रूपमा हेरिएको छ।

३० वर्षे सेवा अवधि पूरा भएपछि उहाँले संस्थाको नियमित जिम्मेवारीबाट औपचारिक विदाई लिनुभएको हो। तर, विदाईअघि संस्थाको लेखापरीक्षण, समीक्षा तथा आवश्यक व्यवस्थापकीय कार्यहरू सम्पन्न गरी अष्टमलाई बलियो आधारमा उभ्याएर मात्र जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो। त्यसैले उहाँको विदाईलाई केवल एउटा कर्मचारीको सेवा समाप्तिको रूपमा नभई साना किसान अभियानको एउटा महत्वपूर्ण अध्यायको समापनका रूपमा हेरिएको छ।

विदाई समारोहमा उहाँ भावुक बन्नुभयो। जीवनको कठिन मोडमा आफूलाई हुर्काउन, अघि बढाउन र बसाइँसराइ गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका दिवंगत मावली दाइ हिमलाल खत्री तथा दिवंगत बुवा-आमालाई उहाँले विशेष रूपमा स्मरण गर्नुभयो। आफूले प्राप्त गरेको सफलता व्यक्तिगत मात्र नभई परिवार, सहकर्मी, शेयर सदस्य, सञ्चालक, कर्मचारी र शुभचिन्तकहरूको सामूहिक साथ र विश्वासको परिणाम भएको उहाँको भनाइ थियो।

संस्थालाई सधैँ प्राथमिकतामा राखेर काम गर्ने क्रममा कतिपय अवस्थामा आफूबाट कसैलाई असर परेको भए त्यसप्रति उहाँले क्षमायाचना गर्दै सबैप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। साना किसान अभियानलाई यहाँसम्म ल्याउन सहयोग गर्ने शेयर सदस्य, सञ्चालक समिति, लेखा समिति, कर्मचारी तथा शुभचिन्तकहरूप्रति उहाँले विशेष धन्यवाद ज्ञापन गर्नुभयो।

यता, ३० वर्षे स्वर्णिम यात्रा पूरा गरी विदाई लिनुभएका उहाँलाई संस्थाले पुनः पाँच वर्षका लागि जिम्मेवारीमा ल्याउने तयारी गरेपछि कार्यक्रमको माहोल झनै भावुक र उल्लासमय बनेको थियो। लामो अनुभव, संस्थागत ज्ञान र भविष्यको स्पष्ट योजनालाई ध्यानमा राख्दै अष्टम साना किसान कृषि सहकारीले उहाँलाई पुनः पाँच वर्षका लागि जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो। यससँगै विदाई लिनुभएका व्यक्तित्वलाई पुनः भव्य स्वागत गरिएको छ।

विदाई र स्वागत दुवै एकै समारोहमा देखिएको यो क्षण अष्टम साना किसानका लागि विशेष बनेको छ। तीन दशकको अनुभव बोकेर संस्थाबाट औपचारिक विदाई लिनुभएका उहाँ अब नयाँ जिम्मेवारीसहित अधुरा योजना पूरा गर्ने अभियानमा पुनः जोडिनुभएको छ। विगतमा निर्माण गरेको बलियो आधारलाई अझ विस्तार गर्दै संस्थालाई थप व्यावसायिक, पारदर्शी, सबल र किसानमुखी बनाउने चुनौती अब उहाँसामु छ।
३० वर्षको स्वर्णिम यात्रा पूरा भयो, तर यात्रा रोकिएको छैन- भन्ने सन्देशसहित पुनः पाँच वर्षका लागि जिम्मेवारीमा फर्किनुले अष्टम साना किसान कृषि सहकारीको आगामी यात्रा अझ महत्वाकांक्षी र उपलब्धिमूलक हुने अपेक्षा गरिएको छ। संस्थाले उहाँको अनुभव, दक्षता र नेतृत्वबाट आगामी दिनमा थप सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ।
तीन दशकको समर्पणपछि भएको भावुक विदाई, त्यसपछि पुनः पाँच वर्षका लागि भएको भव्य स्वागत र जिम्मेवारीले एउटा कुरा स्पष्ट पारेको छ-साना किसान अभियानमा उहाँको योगदान केवल बितेको समयको कथा होइन, आगामी यात्राको आधारसमेत हो।

अष्टम साना किसान कृषि सहकारीलाई थप उचाइमा पुर्‍याउने नयाँ यात्राका लागि उहाँलाई हार्दिक बधाई तथा उत्तर-उत्तर प्रगतिको शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *