भदौ १०
धनगढी – कैलालीका सक्रिय मानवअधिकार तथा सामाजिक अभियन्ता एवं अधिकारकर्मी राजेन्द्र रैका नवजीवन सहकारी संस्था लिमिटेडको समन्वय समितिको सदस्यमा चयन भएका छन्।
सामाजिक न्याय, मानवअधिकार, दलित तथा सीमान्तकृत समुदायको अधिकार, युवा सशक्तीकरण र सामाजिक रूपान्तरणका क्षेत्रमा लामो समयदेखि सक्रिय रैकालाई नवजीवन सहकारी संस्थाको सञ्चालक समितिले समन्वय समितिको सदस्यमा चयन गरेको हो। एक कार्यक्रमबीच संस्थाका सञ्चालक समिति अध्यक्ष गोपालराज पाठक र उपाध्यक्ष उत्तम जोशीले रैकालाई चयनसम्बन्धी प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
साढे दुई दशकदेखि निरन्तर सामाजिक अभियानमा सक्रिय रैका मानवअधिकार र सामाजिक न्यायका सवालमा कैलालीमा परिचित अभियन्ताका रूपमा स्थापित छन्। उनले मानवअधिकार संरक्षण, सामाजिक रूपान्तरण, युवा सशक्तीकरण, दलित तथा सीमान्तकृत समुदायको हकअधिकार, सहकारी शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा विभिन्न अभियानमार्फत निरन्तर काम गर्दै आएका छन्।

रैकाको सक्रियता अधिकारका मुद्दामा मात्र सीमित छैन। सामाजिक अभियान, सहकारी शिक्षा र समुदायको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई जोड्दै उनले सामाजिक न्याय र सामाजिक विकासबीच सहकार्य आवश्यक रहेको विषयलाई व्यवहारमै अघि बढाउँदै आएका छन्। यही अनुभवलाई मध्यनजर गर्दै उनलाई नवजीवन सहकारीको समन्वय समितिमा जिम्मेवारी दिइएको हो।
कैलालीमा रहेर मानवअधिकार तथा सामाजिक विकासका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप रैका यसअघि युवा प्रतिभा राष्ट्रिय सम्मान-२०७८ बाट समेत सम्मानित भइसकेका छन्।

रैका सामाजिक विकास जागरण मञ्च नेपालका केन्द्रीय अध्यक्ष, मानवअधिकार संरक्षण मञ्च नेपालका सुदूरपश्चिम प्रदेश सचिव, सुदूरपश्चिमको ऐतिहासिक कैलाली जनपुस्तकालयको सञ्चालक समिति कोषाध्यक्ष, दलित गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशका सहसचिव तथा दलित अधिकारका लागि राष्ट्रिय सञ्जालका महासचिवको जिम्मेवारीमा रहेर काम गरिरहेका छन्।
मानवअधिकार र सामाजिक न्यायसँगै सहकारी शिक्षा, युवा सशक्तीकरण तथा दलित र सीमान्तकृत समुदायको अधिकारका क्षेत्रमा रैकाको लामो अनुभवलाई नवजीवन सहकारीको समन्वय समितिले प्रभावकारी रूपमा उपयोग गर्न सक्ने अपेक्षा गरिएको छ। उनको चयनलाई सामाजिक अभियान र सहकारी क्षेत्रबीच सहकार्य तथा समन्वयलाई थप बलियो बनाउने अवसरका रूपमा हेरिएको छ।
