थारू समुदायको व्रत बस्ने अटवारी पर्व आइतबार मनाइँदै

कञ्चनपुर , भदौ ३१ गते ! थारू समुदायको व्रत बस्ने अटवारी पर्व तराईका थारू इतबार मनाइँदैछन । विशेषगरी थारू पुरुषले ब्रत बस्ने यस पर्व तराईको पश्चिम कञ्चनपुरदेखि पूर्व सम्म मनाइने गरिन्छ । यद्यपि पूर्वका थारूले ‘रै’ भनेर यसलाई मनाउँछन् ।

थारू समुदायको बाहुल्यता रहेको स्थान र विशेषगरी दाङ, बाँके, बद्धिया, कैलाली, कञ्चनपुर, सुर्खेत जिल्लामा बर्का अटवारी मनाइन्छ । अटवारी पर्वकालागि शनिबार राती दर खाने गरिन्छ । कुखुराको भाले बास्नुअघि दर खाइसक्नुपर्ने थारू अगुवाहरु बताउँछन् ।  सरकारी निकाय र थारु सम्बद्ध संघ संस्थाले पनि ३१ गते आइतबार नै अटवारी भएको भन्दै स्थानीय विदा समेत दिएका छन् । थारू संस्कृतिका जानकार तथा कृष्णपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बाबुराम चौधरीले ३१गतेको आइतबारलाई पर्वको रुपमा मनाइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो कृष्णपुरमा फरक हिसाबले अटवारी मान्दैआएका हौं, अटवारी पर्वको मिति एकरुपता विषयमा थारू समुदायमा अन्यौल देखिन्छ, एकरुपतामा ध्यान दिनुपर्छ । उहाँ भन्नुहुन्छ ‘ अटवारी पर्वमा एकरुपता ल्याउने प्रयास भने थारु समुदाय र सम्बद्ध संस्थामा क्रियाशीलता देखिन्छ, जुन राम्रो पक्ष हो ।’ अर्का थारू अगुवाका अनुसार कृष्णजन्माष्टमी पछिको दोस्रो आइतबार नै अटवारी मनाइन्छ । आइतबार पर्ने पर्व भएकाले यस पर्वको नाम अटवारी रहन गएको थारू बुद्धिजिवीहरुको भनाइ छ । 

यो पर्व दुई दिनसम्म निराहार व्रत बसेर मनाउने गरिन्छ। प्रकृति पूजक भनिने थारू समुदायले यस पर्वमा सूर्यको उपासना गर्छन्। अटवारीलाई थारू समुदायको माघी पछिको दोस्रो ठूलो पर्वको रुपमा लिइन्छ। विशेष गरेर दाजुभाइ निराहार व्रत बसेर विवाहित दिदीबहिनीको दीर्घायू, सु–स्वास्थ्य एवं सुखमय जीवनको कामनासहित मनाउने प्रचलन भए पनि अहिले दिदीबहिनी पनि व्रत बस्ने गरेका छन्।
अटवारी पर्व पहिले भदौदेखि दसैंसम्मको सबै आइतबार व्रत बसेर मनाइने गरिन्थ्यो। पछि कुसे औंसीदेखि पाँच वटा आइतबारसम्म मनाइएको र अचेल दुई दिन मात्रै मनाउने चलन छ।

व्रत बस्ने व्यक्तिले शनिबारको मध्यरातमा भाले नबास्दै दर खाने चलन छ। दर खाएकाहरु पहिलो दिन अर्थात् आइतबार मध्यान्हसम्म पानीसमेत नखाइ व्रत बस्ने गर्छन्। मध्याह्नमा नुहाइधुवाइ गरी व्रतालुहरुले गुइँठामा बालेको अग्निको विधिपूर्वक पूजाआजा गरी अन्दीको रोटी, फलफूल, दूध लगायतका परिकार खाने गर्छन्।
यी परिकारहरु आफूले खानुभन्दा अगाडि एक भाग छुट्टै निकालेर राख्ने चलन छ। यो दिन व्रतालुहरुले पूजा आराधनापछि सूर्यास्त नहुँदासम्म फलफूल खान सक्ने जनाइएको छ।

यसैगरी, दोस्रो दिन बिहानै नुहाइधुवाइ गरेर व्रतालुहरुले अघिल्लो दिनको जस्तै पूजाआजा गरेर पाकेका मिठामिठा परिकार खाने चलन छ। यो दिन विशेषगरी भात, माछा, मासु, फुलौरी, खरिया लगायतका परिकार खाइन्छ। अटवारीको दोस्रो दिनलाई ‘फरार’ भनिन्छ। व्रतालुहरुले दोस्रो दिन खाने खानाका परिकारसमेत आफूले खानुभन्दा पहिले एक भाग निकालेर छुट्टै राख्ने गर्छन्।
यसरी दुई दिनसम्म छुट्टयाएर राखेको अन्दीको रोटी, फुलौरी, खरिया, खुर्मा, फलफूल, माछा लगायतका परिकार पर्वको दोस्रो दिन नै आफ्नो विवाहित चेलीलाई उपहारको रुपमा दिने चलन छ।

माइतीपक्षले विवाहित छोरीचेलीलाई दिइने उपहारलाई ‘अग्रासन’ भनिन्छ। अटवारी पर्वमा विवाहित चेलीले माइतको अग्रासन नपाएमा उनको चित्त दुख्ने गरेको विश्वास गरिन्छ। त्यसैले सकेसम्म सबै परिवारले अटवारीको व्रत बस्ने गरेको जनाइएको छ। अग्नि पूजाको रुपमा सूर्यको पूजा गरेर अटवारी पर्व मनाउने चलन रहेको थारू बुद्धिजीवी बताउँछन्।
थारू समुदाय प्रकृति पूजक रहेकाले सूर्यको प्रतीक मानेर अग्निको पूजा गरी अटवारी पर्व मनाउने गरेको कृष्णपुर ३ का वडा अध्यक्ष् खेमराज चौधरीको भनाइ छ। उनी भन्छन्, ‘सूर्यले ताप, शक्ति र उज्यालो दिने भएका कारण अटवारी पर्वमा सूर्य देवताको पूजा गरेमा सुख, शान्ति र दीर्घ जीवन मिल्ने विश्वास छ।’
अन्य पर्वमा जस्तै अटवारीमा आफ्ना चेलीबेटीहरुलाई घरमै बोलाउने चलन छैन। व्रतालुहरुले निकालेको पहुर ‘अग्रासन’ उनीहरुकै घरमा पुर्‍याउन जाने चलन छ। अग्रासन पुर्‍याउन प्रायः दाजुभाइ नै जाने गर्छन्। दाजुभाइ नभए अन्य सदस्यहरु जान्छन्।

चेलीहरु पनि अग्रासन दिन आउनेलाई मानसम्मान गर्छन्। उनीहरुको सम्मानमा जाँड, रक्सी र मासु खुवाउने गर्छन्। अतिथि सत्कारका लागि थारू समुदायमा जाँड रक्सी ठूलो मानिन्छ। त्यसकारण जाँड रक्सी खुवाउन पाए सन्तुष्ट भएको महसुस गर्छन्।

यो पर्व भातृत्व र सद्भावको पर्वको रुपमा पनि चिनिन्छ। लामो समयसम्म आफ्नो माइती जान नपाएका चेलीबेटीहरु यस पर्वमा आफ्ना दाजुभाइ तथा परिवारसँग सुखदुःखका कुरा खुलेर पोख्छन्। यसरी एकै ठाउँमा बसेर सुखदुःखका कुरा र खानपिनले एकापसमा विश्वास र आत्मीयता बढाउँछ। पारिवारिक सम्बन्ध पनि सुमधुर बनाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply