माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल काे निधन

कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष कृष्ण बडुवाल ‘महेश’ को निधन भएको छ । केही दिनदेखि निमोनियाले थला परेका बडुवालको उपचारको लागि भारतको लखनउ लैजादै गर्दा बिहीबार बिहान बाटोमै निधन भएको हो ।

माओवादी केन्द्रले सञ्चालन गरेको तीन महिने रुपान्तरण अभियानका क्रममा डोटीमा खटिएका बडुवाल स्वास्थ्यमा समस्या देखिएपछि कैलाली फर्किएर उपचारमा लागेको र यहाँ उपचार सम्भव नभएपछि भारतको लखनउमा लैजादै गर्दा बाटोमै निधन भएको माओवादी केन्द्रका प्रदेश पार्टी कार्यालय सचिव उद्धव भट्टराईले जानकारी दिए ।

बडुवालको आजै कर्णाली चिसापानीमा अन्त्यष्टि गरिने उनले जानकारी दिए । जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमा उनी (महेश) डोटीको जोरायल गापा र बडीकेदार गापाको कमाण्डर भएर अभियानमा लागेका थिए ।कैलालीको लम्कीचुहा नगरपालिका–५ निवासी बडुवाल जनयुद्धकालदेखि पार्टीको इमान्दार सिपाईको रुपमा जिम्मेवारी पूरा गर्दै आएका आएका थिए ।

वि.सं.२०३९ साल माघ २१ गते बुवा खडकबहादुर र आमा जमुनादेवी बडुवालको कोखबाट जन्मिएका महेश पाँच भाइमध्ये काइला हुन् ।महेश संविधानसभा सदस्य भगत बडुवालका सहोदर भाइ हुन् । २०५४/५५ सालदेखि राजनीतिक यात्रा सुरु गरेका महेश मिजासिला, सर्वप्रिय, मिलनसार, पार्टी प्रति निष्ठावान,अहिलेसम्म कहीँ कतै खोट नलागेको असल नेताका रुपमा रहेको कार्यालय सचिव भट्टराईले बताए । पार्टीले क्रान्तिकारी,विद्रोही स्वभावका कुसल नेता गुमाएको उनको भनाइ छ ।

विद्यार्थीकालमा लम्कीस्थित जनजागृति माविबाट स्कुल कमिटीको अध्यक्ष हुँदै राजनीतिमा लागेका महेश जनयुद्धको क्रममा २०५६ फागुन १८ गते शिक्षा क्याम्पस सर्खेतमा प्रविणता प्रमाण पत्र तह पढ्ने क्रममा गिरफ्तार भइ २०५८ माघ २ गते जेल ब्रेकका योद्धाका समेत हुन् ।
महेशले पार्टीको पूर्णकालिन सदस्य भइ १६ औँ राष्ट्रिय सम्मेलनबाट बैकल्पिक केन्द्रीय सदस्य हुँदै केन्द्रीय सदस्यसम्मको भूमिका निर्बाह गरेको माओवादी केन्द्रले जनाएको छ । बडुवालले २०७१ साल असोज २० गते डोटीको जोरायलमा भएको बस दुर्घटनामा श्रीमति र छोरा गुमाएका थिए । यसपछि अर्को विवाह गरेका महेशका हाल श्रीमति र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply