२९ मङ्सिर धनगढी
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत प्लेअफमा पुग्न जित्नै पर्ने खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ।
टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराले ८ विकेटको क्षतिमा १३८ रन जोड्यो।
पोखराका लागि रेमन्ड रेइफरले नटआउट ४१ रन जोडे। अन्तिम ओभरमा १७ रन प्रहार गरेका उनले ३० बलमा १ चौका र ३ छक्का प्रहार गरे।
पोखराका ओपनर दिनेश खरेलले ३८ रनको योगदान गरे। छैटौं ओभरमा रशिद खानलाई लगातार चार चौका प्रहार गरेपछि उनी अन्तिम बलमा आउट भएका थिए। उनले २५ बल खेलेर ६ चौका र १ छक्का प्रहार गरे।
अर्का ओपनर आन्द्रेस गौस भने शून्यमाआउट भए। उनलाई दोस्रो ओभरमा गेरार्ल्ड इरासमसले माइकल लेभिटबाट क्याच गराए।
कप्तान कुशल भुर्तेल ७ रन र दिलीप नाथ २७ रन जोडेर आउट भए। दुवैलाई रशिद खानले बोल्ड गरेका थिए।
आकर्षित गोमेल ८ रनमा लेभिटको एलबिडब्लूको धरापमा पर्दा माइल लिस्क पनि करण केसीबाट १ रनमै एलबिडब्लू आउट भए। करण केसीले नारायण जोशीलाई पनि रशिद खानबाट क्याच गराउँदा डकआउटको सिकार बनाए।
बलिङमा काठमाडौंका रशिद खान र करण केसीले ३-३ विकेट लिए। करणले ४ ओभरमा २४ रन दिँदा रशिदले ४३ रन खर्चिए।
अघिल्ला पाँच खेल खेल्दा दुवै टोलीले दुई दुई खेलमा जित निकालेका छन्। प्लेअफमा पुग्न दुवै टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ।