माग २६ धनगढी
कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा फ्रेन्ड्स क्लब डडेल्धुरा फाइनलमा पुगेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा न्यू होराइजन बुटवललाई पाँच विकेटले हराउँदै डडेल्धुरा फाइनलमा पुगेको हो ।
सेमिफाइनलमा बुटवलले दिएको ८३ रनको लक्ष्य डडेल्धुराले १५ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । डडेल्धुरालाई फाइनलमा पुगाउन कुशल भुर्तेलले २६ बलमा ४६ रन बनाए । उनले छ चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै, आयुषमान बलमे १६ रन बनाए । बुटवलका प्रिन्स पालले तीन तथा निर्मल गुरुङ र महेश भारले एक–एक विकेट लिए ।
त्यसअघि फाप्ला मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल १६.१ ओभरमा ८२ रनमा समेटिएको थियो । उसका लागि आरिफ खानले २०, दीपक डुम्रेले १८ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । डडेल्धुराका कुशल भुर्तेलले पाँच विकेट लिए ।
उनी खेलका म्यान अफ द म्याच भए । यस्तै, अजय चौहानले तीन तथा हेमन्त धामी र अशोक धामीले एक–एक विकेट लिए । सेमिफाइनलको अर्को खेल आइतबार हुने छ । उक्त खेलमा डीसीए धनगढी र सिवाइसी अत्तरिया भिड्ने छन् ।