कृष्ण केसी
बाँके – राप्ती सोनारी गाउँपालिका–२ का मदुवा र हरहरीपुर जोड्ने मुगुवा खोला (ठुरे खोला) मा हालसम्म पुल नबन्दा दैनिक आवतजावत गर्ने स्थानीय बासिन्दा विशेष गरी विद्यालय जाने बालबालिका उच्च जोखिम मोलिरहेका छन्। वर्षातमा खोला बढेपछि बालबालिका घर फर्कन नसक्ने अवस्था आउँदा आमाबाबु मानसिक पीडामा बस्न बाध्य छन्।
स्थानीय ३५ वर्षीया शारदा बिक भन्छिन्, “छोराछोरी के हुने हो भन्ने चिन्ताले सताउँछ, पानी पर्दा त खोलै तर्नु पर्छ।”
२०६४ सालदेखि राजनीतिक दलहरूको प्रमुख एजेन्डा बनिरहे पनि अहिलेसम्म पुल नबन्दा जनप्रतिनिधिहरूप्रति आक्रोश बढ्दै गएको छ। नेकपा एमालेका जनप्रतिनिधि घनश्याम ओलीले भने, “क्षेत्र नं. १ का सांसद सूर्य ढकाल र प्रदेश सांसद कृष्णा केसी ( नमुना ) पटक–पटक आग्रह गरिए पनि केवल आश्वासन मात्र पाइयो।”
असार १ गते नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले संयुक्त रुपमा ‘जनसरोकार कार्यक्रम’ सञ्चालन गरी पुल निर्माणलाई साझा एजेन्डाका रूपमा उठाए। कार्यक्रममा ३५ जना स्थानीय, राजनीतिक कार्यकर्ता, बुद्धिजीवी र सञ्चारकर्मीहरूको सहभागिता थियो।
कार्यक्रमका सभापति शिवाखर उपाध्यायले भने, “निर्वाचित जनप्रतिनिधिहरूलाई २०८४ भित्र पुल निर्माण गर्न दबाब दिन सञ्चार माध्यममार्फत जनचेतना र दबाब सिर्जना गर्न बाध्य भयौं।”