काठमाडौँमा शनिबार ‘युथ कन्क्लेभ २०२५’, उद्यमशीलता र नेतृत्व विकासमा केन्द्रित

काठमाडौँ – युवामा उद्यमशीलता, नेतृत्व, व्यवस्थापन तथा औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले राजधानीमा शनिबार ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना गरिने भएको छ।

युनिभर्सल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट र आर्यन स्कूल अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टको संयुक्त आयोजनामा हुने यो सम्मेलनले युवालाई उद्यमशीलता, करियर मार्गदर्शन, स्टार्टअप प्रवद्र्धन र सामाजिक संलग्नतामा जोड्ने लक्ष्य लिएको छ।

कार्यक्रम संयोजक राजु टण्डनका अनुसार कन्क्लेभले परम्परागत शैक्षिक प्रणालीमा आवश्यक परिवर्तन ल्याउँदै युवालाई स्वदेशमै अवसर पहिचान गर्न उत्प्रेरित गर्नेछ। “बौद्धिक पलायन रोक्दै देशमै सम्भावनाहरू खोज्ने प्रेरणा दिने कन्क्लेभ बन्ने हाम्रो अपेक्षा हो,” उनले बताए।

शनिबार बिहान १० बजे कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सभाहलमा सुरु हुने कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन्। एक्सपर्ट एजुकेशनको शीर्ष प्रायोजनमा करिब पाँच हजार विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ।

कन्क्लेभमा गीत–संगीत, हास्यव्यङ्ग्य, नृत्यसँगै विभिन्न क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरूले आफ्ना अनुभव र प्रेरणादायी विचार प्रस्तुत गर्नेछन्। यस क्रममा ‘केवाइसी–२०२५ युथ आइकन’को रूपमा सिसन बानियालाई सम्मान गरिनेछ भने एम.एम.ए. खेलाडी रबिन्द्र ढाँट ‘गेस्ट अफ अनर’ हुनेछन्। त्यस्तै गायक दुर्गेश थापालाई ‘परफर्मर अफ द इयर’ उपाधि प्रदान गरिनेछ।

कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत सईद मोहम्मद इनामुल कविर, नेपाल प्रहरीका एआइजी दानबहादुर कार्की, क्रिकेटका पूर्व कप्तान पारस खड्का, हास्यकलाकार सन्दीप क्षेत्री, गायक भेक, गायिका ओसीन कार्की, गायिका लक्ष्मी आचार्य, एलजीबीटीक्यु अधिकारकर्मी रुक्सना कपालीलगायत विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी हुनेछन्।

वि.सं. २०७६ सालदेखि सुरु गरिएको यो कन्क्लेभको यो छैठौं संस्करण हो। आयोजकका अनुसार हरेक वर्ष निरन्तरता दिइँदै आएको यो कार्यक्रम नेपाली विद्यार्थी र युवाका लागि सबैभन्दा ठूलो नेतृत्व मञ्च बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply