१४ वर्षीय बालकको करेन्ट लागी मृत्यु : माओवादी केन्द्र बैतडीले माग्यो सत्यतथ्य छानबिन

बैतडी – बैतडीको डिलासैनी गाउँपालिका–३ गिरिवगडका १४ वर्षीय बालक किरण कोलीको करेन्ट लागेर भएको दुःखद निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बैतडीले गहिरो शोक व्यक्त गरेको छ।

मिति २०८२ साउन १७ गते बेलुकी खेल्ने क्रममा विद्युतिय तार मुनि थुपारिएको बालुवाको थुप्रोमा स्पर्श गर्दा बालक कोलीलाई करेन्ट लागेको थियो। स्थानीयको प्रयासमा तत्काल उद्धार भए पनि घटनास्थलमै उनको निधन भएको परिवारजनले जनाएका छन्।

यस हृदयविदारक घटनाप्रति माओवादी केन्द्र बैतडीले मृतक बालकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।

प्रेस विज्ञप्तीमार्फत पार्टीले घटनापछि पिडित परिवारजनले जाहेरी दर्ता गर्न प्रयास गर्दा स्थानीय प्रशासनले जाहेरी लिन आनाकानी गरेको, ढाकछोप गर्ने प्रवृत्ति देखिएकोप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका अनुसार घटनाको सत्य तथ्य सार्वजनिक गर्ने सट्टा प्रशासनको ढिलासुस्ती र लापरबाहीले न्याय प्रक्रियामै आघात पुर्‍याएको छ।

बालक कोलीको निधन बालुवाको थुप्रोमा खेल्ने क्रममा भएको हुँदा सो बालुवा कसले, किन, कसरी थुपारेको हो भन्ने कुरामा समेत गम्भीर अनुसन्धान हुनुपर्नेमा पार्टीले जोड दिएको छ। “जनतालाई कानुनी राज्यको अनुभूति हुने खालको छानबिन हुनुपर्छ,” विज्ञप्तीमा भनिएको छ।

पार्टीले किरण कोलीको मृत्यु प्रकरणलाई अतिरन्जित गर्ने, सामाजिक सद्भावमा खलल पार्ने वा घटनासँग असम्बन्धित गतिविधिहरूलाई जोडेर भ्रम फैलाउने प्रयास नगर्न आग्रह गरेको छ। “घटनालाई वास्तविकतामा आधारित रहेर बुझ्नुपर्छ, अनावश्यक उत्तेजना सृजना गर्नु हुँदैन,” विज्ञप्तीमा भनिएको छ।

स्थानीय बासिन्दाले निर्दोष बालकको मृत्युमा दोषीको कारबाही नहुने हो भने यस्ता घटनाले पुनः दोहोरिने र जनतामा राज्यप्रति विश्वास हराउने चेतावनी दिएका छन्। किरण कोलीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूले निष्पक्ष छानबिन र पिडित परिवारलाई न्याय दिलाउन सरकारलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply