काठमाडौं उपत्यकामा कर्फ्यु र निषेधाज्ञा खुकुलो, जनजीवन सामान्यतर्फ

खेमराज भट्ट, भाद्र २८
काठमाडौं,नेपाली सेनाले पछिल्ला चार दिनदेखि निरन्तर जारी गर्दै आएको कर्फ्यु र निषेधाज्ञा शनिबार साँझपछि भने थपिएको छैन । जेन–जि आन्दोलनपछिको विषम परिस्थिति र असुरक्षाको कारण देखाउँदै सेनाले दैनिक आधारमा सूचना जारी गर्दै आएको थियो। तर, शनिबार बेलुकापछि सेनाबाट कुनै नयाँ आदेश जारी नभएसँगै आज आइतबार बिहानैदेखि काठमाडौं, ललितपुर, भक्तपुरलगायतका सडकमा सामान्य चहलपहल देखिएको छ।

सेनाले लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञासम्बन्धी जिम्मेवारी अब जिल्ला प्रशासन कार्यालयहरूले आवश्यकताअनुसार निर्णय गर्न थालेका छन्। शनिबार राति जारी आदेशअनुसार आज बिहान ६ बजेसम्म मात्र कर्फ्यु कायम थियो। त्यसपछि निषेधाज्ञा हटेपछि जनजीवन विस्तारै सहज बन्न थालेको हो।

हिजोअस्ति मात्र अत्यावश्यक कार्यका लागि बिहान ६ देखि ११ बजेसम्म र बेलुकी ५ देखि ७ बजेसम्म मात्र आवतजावत खुला गरिएको थियो। त्यसभन्दा अन्य समयमा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुन्थ्यो भने बेलुकी ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको थियो।

आज भने त्यस्तो प्रतिबन्धात्मक आदेश जारी नभएकाले उपत्यकाको सडकमा सवारीसाधनको चाप बढेको छ। पसलहरू खुलेका छन्, कार्यालय जान्ने मानिसहरूको भीड बढेको छ र स्थानीय बासिन्दा दैनिक जीवनतर्फ फर्किन थालेका छन्।

सुरक्षाका दृष्टिले अवस्था अझै संवेदनशील रहेको बताउँदै प्रशासनले आवश्यक परे पुनः कडा प्रतिबन्ध लगाउन सकिने चेतावनी दिएको छ। तर अहिलेको लागि कर्फ्यु र निषेधाज्ञा नलागेकाले काठमाडौं उपत्यकावासीले केही दिनपछि सामान्य जीवनको अनुभव गर्न पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply