कृष्ण केसी, बाँके कार्तिक २१
बाँके — बालापनका याद, प्रेम र सम्झनाले जोडिएका साथीहरू १८ वर्षपछि फेरि एउटै ठाउँमा भेला भएका छन्। सन् २०६४ सालमा एसएलसी दिएर आ–आफ्नो बाटो लागेका ती मित्रहरू लामो अन्तरालपछि बाँकेको राप्ती सुनारी–५, बिनौनास्थित पार्कमा विशेष वनभोज आयोजना गर्दै पुनः मिलनमा रमाए।
तिहारको रौनक नघट्दै गरिएको उक्त भेटघाटमा देश–विदेशमा रहेका पुराना साथीहरू सहभागी थिए। विशेषतः जापानमा रहेका सहवीर र अन्य मित्रहरूबीचको प्रेम, सम्झना र साथित्वको सम्बन्धले कार्यक्रमलाई झन् भावनात्मक बनायो।

वनभोज स्थल वरिपरि हरियाली, पहेँलै फुलेका फुल र बालापनका यादहरूले सबैको मन छोयो। दिदीबहिनीहरूले बनाएका थरीथरीका मिठा भोजन, हाँसो र रमाइलोमा बितेको त्यो दिन सबैका लागि अविस्मरणीय रह्यो।
कार्यक्रमको उद्घोषण रेखबहादुरले गरेका थिए भने आयव्य हेर्ने जिम्मेवारी भरतको थियो। सबै सहभागी अहिले जिम्मेवार जीवनमा स्थापित भए पनि बालापनको ‘त–त म–म’ शैलीको ठट्टा, व्यङ्ग्यात्मक गीत र हास्य–विनोदले बाल्यकाललाई पुनः जिउँदो बनायो।

१८ वर्षपछि भेटघाटको अवसर सम्झनाको प्रतीकका रूपमा केक काटेर मनाइयो। सबैले आपसी प्रेम, सद्भाव र साथित्वलाई दीर्घकालसम्म निरन्तरता दिने प्रतिबद्धता जनाए।
लेखक कृष्ण केसीले क्यामेराबाट ती क्षणहरू कैद गर्दै भावुक हुँदै भने, “ती साथीहरू सम्झँदा आँखाबाट आँसु झर्यो, मेरो सम्झना आज सम्झनामै सीमित रह्यो।”

यो भेटघाटले बालापनका सुनिला पलहरू पुनः जीवन्त पार्दै साथित्वको एउटा कोसेढुङ्गाको रूपमा स्मृतिमा अटुट छाप छोडेको सहभागीहरूको भनाइ छ।

