पुस ६
लगातार तेस्रो खेलमा जित निकाल्दै घरेलु टोली अस्ट्रेलियाले दुई खेल अगावै एसेज सिरिज कब्जा गरेको छ।
आइतबार एडिलेडमा तेस्रो टेस्ट खेलमा इंग्ल्यान्डमाथि ८२ रनको प्रभावशील जितसँगै सिरिजमा अस्ट्रेलियाले ३-० को अग्रता लिएको हो। यसअघि अस्ट्रेलियाले पहिलो र दोस्रो टेस्टमा ८-८ विकेटको जित निकालेको थियो।
आइतबार अस्ट्रेलियाले दिएको ४३५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङग्समा ३५२ रनमा अलआउट भयो।
उसका लागि ओपनर ज्याक क्राउली ८५ रन र जिमी स्मिथले ६० रन बनाएका थिए। बलिङमा अस्ट्रेलियाका माचेल स्टार्क, प्याट कमिन्स र नाथान लियोनले ३-३ विकेट लिए।
दोस्रो इनिङग्समा अस्ट्रेलियाले ट्राभिस हेडको १७० रनको मद्दतमा ३४९ रन जोडेपछि अस्ट्रेलियाले ४३५ रनको विशाल लक्ष्य पाएको थियो। अस्ट्रेलियाका लागि एलेक्स क्यारीले बनाएको ७२ रन पनि महत्वपूर्ण सावित भयो।
पहिलो इनिङग्समा अस्ट्रेलियाले ३७१ रन जोड्दा इंग्ल्यान्ड २८६ रनमा अलआउट हुँदा खेलमा अस्ट्रेलिया हाबी देखिएको थियो। पहिलो इनिङग्समा अस्ट्रेलियाका लागि एलेक्स क्यारीले १०६ रन बनाए भने बलिङमा इंग्ल्यान्डका जोफ्रा आर्चरले ५ विकेट लिएका थिए।
इंग्ल्यान्डका लागि ब्याटिङमा बेन स्टोक्सले ८३ रन र आर्चारले ५१ बनाए अरु ब्याटर चल्न सकेनन्।
बलिङमा अस्ट्रेलियाका कमिन्स र स्कट बोलान्डले ३-३ विकेट लिएका थिए। दुई इनिङग्समा १७८ रन र ६ क्याच लिएका क्यारी प्लेयर अफ दि म्याच भए।
चौथो टेस्ट २६ डिसेम्बरदेखि मेलवर्नमा सुरू हुनेछ।
