समुदाय–प्रहरी साझेदारी सुदृढ गर्दै काठमाडौंमा ‘हाम्रो प्रहरी’ कार्यक्रम सुरु

खेमराज भट्ट, पुस १३

काठमाडौँ — जिल्ला प्रहरी परिसर, काठमाडौंको आयोजनामा समुदाय–प्रहरी साझेदारीलाई व्यवहारमा उतार्ने उद्देश्यसहित “हाम्रो प्रहरी” अर्थात् प्रहरी अभियानको औपचारिक शुभारम्भ समारोह काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले प्रहरीप्रति बालबालिकादेखि नै विश्वास, अपनत्व र सकारात्मक सोच विकास गर्दै “प्रहरी हाम्रो हो, प्रहरी सेवा हाम्रो लागि हो” भन्ने भावनालाई समाजमा गहिरो रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।

औपचारिक समारोहका सभाध्यक्ष काठमाडौँ महानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष मचाराजा महर्जन रहनु भएको थियो भने प्रमुख अतिथि नेपाल प्रहरी संगठनका प्रमुख श्रद्धेय प्रहरी महानिरीक्षक दान बहादुर कार्की रहनु भएको थियो। कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोल, माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइराला, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कलाकार, रङ्गकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारी, सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक सुरेश कुमार श्रेष्ठ, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल, काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाँई, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष उद्यमी चन्द्र ढकाललगायत उद्यमी–व्यवसायीहरूको सहभागिता रहेको थियो।

त्यसैगरी, निमन्त्रणालाई सहर्ष स्वीकार गरी उपस्थित काठमाडौं जिल्लाभित्रका विभिन्न नगरपालिकाका नगर प्रमुख, उप–प्रमुखहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, सुरक्षाकर्मी, सामाजिक संस्था, विद्यालयका प्रतिनिधि, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिले कार्यक्रमको महत्व झनै बढाएको थियो।

कार्यक्रमको शुभारम्भ नेपाल प्रहरी ब्यान्डद्वारा राष्ट्रिय गानसहित गरिएको थियो। त्यसपछि धिमे बाजा, पानस बत्ती प्रज्वलन, ड्रोनबाट पुष्पवृष्टि र बाँसुरी वादनमार्फत कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो, जसले सांस्कृतिक गरिमा र आधुनिक प्रविधिको संयोजनमार्फत प्रहरी–समुदाय सम्बन्धको नयाँ सन्देश प्रवाह गरेको थियो।

स्वागत मन्तव्य राख्दै प्र.व.उ. रमेश थापाले बालबालिकामै प्रहरीप्रति सकारात्मक दृष्टिकोण विकास गरिनु नै दीर्घकालीन शान्ति सुरक्षाको आधार भएको उल्लेख गर्नुभयो। त्यसपछि प्र.ब.ना.नि. सन्तोष लामाद्वारा निर्माण गरिएको प्रहरी वृत्तचित्र प्रदर्शन गरिएको थियो, जसले नेपाल प्रहरीको सेवा, समर्पण, चुनौती र समाजप्रतिको उत्तरदायित्वलाई सशक्त ढंगले प्रस्तुत गरेको थियो।

कार्यक्रमलाई सांस्कृतिक रूपमा समृद्ध बनाउँदै नेपाल प्रहरी सङ्गीत विद्यालयद्वारा प्रस्तुत Thematic गीत “हर गाउँ हर नगरी” तथा नृत्यले उपस्थित दर्शकलाई भावनात्मक रूपमा जोडेको थियो। साथै एलिस राईसहितका कलाकारद्वारा नाटक प्रस्तुति, नेवारी नृत्य, कालभैरव चर्या नृत्य, Arambha Montessori का विद्यार्थीहरूको नृत्य, तथा नेपाल प्रहरीको मंगन नृत्यले सामाजिक सद्भाव, सांस्कृतिक विविधता र सामुदायिक एकताको सन्देश प्रवाह गरेको थियो।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै अनुराधा कोइराला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायत वक्ताहरूले प्रहरीलाई डरको प्रतीक होइन, समाजको संरक्षक र साथीका रूपमा स्थापित गर्न प्रहरी जस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताए। उनीहरूले बालबालिकामै नै नैतिक मूल्य, अनुशासन र नागरिक कर्तव्यको भावना विकास गर्न यस्ता पहल आवश्यक रहेकोमा जोड दिए।

काठमाडौँ महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोलले स्थानीय तह, विद्यालय र प्रहरीबीचको सहकार्य बलियो बनाएर समुदायमै अपराध न्यूनीकरण र सामाजिक सचेतना विस्तार गर्न सकिने बताउनुभयो। प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले शान्ति सुरक्षा केवल प्रहरीको जिम्मेवारी नभई समुदायको साझा दायित्व भएको धारणा राख्नुभयो।

प्रमुख अतिथि प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले मन्तव्य दिँदै शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि प्रहरी–नागरिक साझेदारी अपरिहार्य रहेको स्पष्ट गर्नुभयो। उहाँले विद्यालय, समुदाय, आमा समूह, टोल विकास समिति र स्थानीय तहसँग सहकार्य गर्दै बालमैत्री, जनमैत्री र विश्वासमा आधारित प्रहरी सेवा प्रवाह गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रमको अन्त्यमा सभाध्यक्षबाट प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्दै औपचारिक कार्यक्रम समापन गरिएको थियो। आयोजकका अनुसार “हाम्रो प्रहरी” अर्थात् प्रहरी अभियानमार्फत बालबालिकामा प्रहरीप्रतिको सकारात्मक सोच विकास गर्दै दीर्घकालीन रूपमा अपराध न्यूनीकरण, सामाजिक सद्भाव र सुरक्षित समाज निर्माणमा योगदान पुर्याउने लक्ष्य लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply