नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरण सहमति

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच पार्टी एकीकरणका लागि औपचारिक सहमति भएको छ। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल मर्मलाई आत्मसात गर्दै समाजवादउन्मुख राज्य निर्माणका लागि दुवै दल एकताबद्ध हुने सहमति गरेका हुन्।

सहमति–पत्रमा विगतका राजनीतिक आन्दोलन, जनयुद्ध, थारु आन्दोलन, मधेस विद्रोह तथा हाल विकसित नवयुवा पुस्ताको राजनीतिक चेतनाबाट प्राप्त उपलब्धिहरूको रक्षा र विस्तार गर्दै अग्रगामी परिवर्तनका पक्षधर शक्तिहरूलाई एकताबद्ध गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

सहमति अनुसार पार्टीले संघीयता, सुशासन, समृद्धि र सामाजिक न्यायमार्फत समाजवादको दिशामा अघि बढ्ने नीति अवलम्बन गर्नेछ। पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्र प्राप्तिका लागि सडक, सदन र सरकार तीनै क्षेत्रमा संघर्ष जारी राख्ने उल्लेख गरिएको छ।

एकीकरणपछि पार्टीको नाम नेपाली कम्युनिष्ट पार्टी रहने र चुनाव चिन्ह तारा कायम हुने सहमति भएको छ। दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरू स्वतः नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुनेछन्। साथै नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय समिति लगायत सबै संगठनात्मक संरचना आपसी सहमतिमा नेकपामा समायोजन गरिनेछ।

संविधानका सकारात्मक पक्षहरूको रक्षा गर्दै आवश्यक परे अग्रगामी संशोधनका लागि पहल गर्ने, महिला, थारु, मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक तथा सीमान्तीकृत समुदायलाई राज्यका सबै तहमा समानुपातिक समावेशीकरण सुनिश्चित गर्ने विषय पनि सहमतिमा समेटिएको छ।

सहमति–पत्रमा टिकापुर घटनासँग सम्बन्धित प्रतिशोधपूर्ण मुद्दाहरू खारेज गर्न र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने उल्लेख गरिएको छ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल तथा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति–पत्रमा हस्ताक्षर गरेका छन्। सहमति मिति २०८२ पुस १४ मा सम्पन्न भएको हो।

दुवै दलले उक्त नीति, सिद्धान्त र विचारमा सहमत सबै राजनीतिक दल, शक्ति र व्यक्तिहरूलाई नेपाली कम्युनिष्ट पार्टीमा एकताबद्ध हुन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply