समानुपातिकमा नयाँ अनुहारलाई प्राथमिकता: नेकपाले विज्ञ, युवा र अल्पसंख्यक समेट्यो

काठमाडौं, पुस १४ —
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा समानुपातिक तर्फ पुराना अनुहारभन्दा नयाँ क्षमता र प्रतिनिधित्वलाई केन्द्रमा राख्दै उम्मेदवार चयन गरेको छ। यसअघि मन्त्री, संघीय वा प्रदेश सांसद नभएकालाई प्राथमिकतामा राखेर सूची तयार गरिएको नेता वर्षमान पुनले जानकारी दिए।

उनका अनुसार समानुपातिक सूची बनाउँदा विज्ञता, युवा सहभागिता, सहिद परिवार, अल्पसंख्यक समुदाय तथा विभिन्न पेशा–व्यवसायमा क्रियाशील व्यक्तिलाई समेटिएको छ। “सत्ताको अनुभवभन्दा समाजसँग जोडिएको योगदानलाई महत्व दिएका छौँ,” पुनले भने, “उद्यमी, व्यवसायी, अधिकारकर्मी र युवाको उपस्थितिले सूचीलाई समावेशी बनाएको छ।”

पार्टी एकतामा सहभागी भएका १७ घटक दलहरूको भावना समेट्ने गरी उम्मेदवार छनोट गरिएको नेकपाको दाबी छ। समानुपातिक सूचीमा अधिकारकर्मी मित्र परियार, पूर्वराजदूत प्रमेश हमाल, विज्ञ परशुराम तामाङ, जोगकुमार बर्बरिया, बीबी खनाल, पूर्व विद्यार्थी नेता पञ्चा सिंह, चेपाङ समुदायबाट मंगलसिंह प्रजा, पूर्व लडाकु कमान्डर कमला नहर्की, चिरन पुन, पार्वती विक, महेन्द्रबहादुर कार्की लगायतका नाम समावेश छन्।

सशस्त्र द्वन्द्वका क्रममा अभिभावक गुमाएका उदयपुरका विनोद कटुवाल र कैलालीकी विद्या भाटलाई पनि समानुपातिक सूचीमा स्थान दिइएको छ, जसलाई पार्टीले ‘संघर्ष र त्यागको सम्मान’का रूपमा व्याख्या गरेको छ।

यसैबीच, सोमबार पार्टी एकतामा सहभागी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका उम्मेदवारहरू भने सूची संशोधनको क्रममा समेटिने नेकपाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply