रिलिशा राजवंशी, माघ २ सल्यान
सल्यान जिल्लामा पछिल्लो समय जंगली पाटेबाघको आक्रमणबाट सिर्जित गम्भीर अवस्था नियन्त्रण गर्न डिभिजन वन कार्यालय सल्यान ले निर्णायक कदम चालेको छ। मानव जीवनमा निरन्तर खतरा बढेपछि बाँके राष्ट्रिय निकुञ्ज लाई उक्त बाघलाई पक्रन वा आवश्यक परे कानुनअनुसार मार्नसमेत आदेश दिइएको हो।
कालिमाटी गाउँपालिका वडा नम्बर ६ र ७ अन्तर्गत पर्ने घुईयावारी क्षेत्रमा विगत एक साताभित्र पाटेबाघको आक्रमणबाट तीन जना मानिस तथा दुई वटा घरपालुवा जनावर (गोरु र गाई) मारिएको पुष्टि भएपछि स्थानीय समुदाय त्रसित बनेको छ। बाघले मानिसलाई लक्षित गरी आक्रमण गर्न थालेपछि गाउँघरमा सामान्य आवत–जावतसमेत जोखिमपूर्ण बनेको स्थानीयको गुनासो छ।
स्थानीय जनता र जनप्रतिनिधिहरूको गम्भीर आग्रहपछि डिभिजन वन कार्यालय सल्यानले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ (पाँचौँ संशोधनसहित) र नियमावली २०३० (पाँचौँ संशोधनसहित) अनुसार प्रक्रिया अगाडि बढाएको हो। नियमअनुसार गठन गरिएको सिफारिस समितिको सुझावका आधारमा उक्त बाघलाई कानुन बमोजिम पक्रन वा मार्न आदेश जारी गरिएको कार्यालयले जनाएको छ।
डिभिजन वन अधिकृत टेक बहादुर रावल द्वारा हस्ताक्षरित आदेशमा मानव जीवनको सुरक्षा, स्थानीय बासिन्दाको भयको अन्त्य र क्षेत्रीय शान्ति कायम गर्नु प्रमुख उद्देश्य रहेको उल्लेख छ। आदेश कार्यान्वयनका लागि बाँके राष्ट्रिय निकुञ्जसँग आवश्यक सहकार्य, सहयोग र सहजीकरण गर्न अनुरोध गरिएको छ।
वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्नु चुनौतीपूर्ण भए पनि, जोखिमपूर्ण अवस्थामा मानव जीवनको रक्षा पहिलो प्राथमिकता हुने
सरोकारवालाहरूको स्पष्ट धारणा छ। स्थानीय बासिन्दाले निर्णयपछि केही राहत महसुस गरेको बताउँदै दीर्घकालीन समाधान, सतर्कता र पूर्वतयारीका ठोस कार्यक्रमको अपेक्षा गरेका छन्।
यस निर्णयले तत्कालीन संकट व्यवस्थापनमा सहयोग पुग्ने र भविष्यमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि थप योजनाबद्ध पहलको मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।

