खेमराज भट्ट, माघ २
चितवन — भरतपुर महानगरपालिकाको विकास यात्रामा आज एउटा सम्झनालायक र ऐतिहासिक क्षण थपिएको छ। वर्षौँदेखिको योजना, प्रतिबद्धता र सामूहिक प्रयासले मूर्तरूप पाउँदै अत्याधुनिक प्रशासकीय भवन औपचारिक रूपमा नागरिक सेवाका लागि समर्पित भएको छ। गणतन्त्र नेपालको राजनीतिक इतिहासका अग्रणी व्यक्तित्व तथा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको करकमलबाट सम्पन्न उद्घाटन समारोहले यस उपलब्धिलाई अझ अर्थपूर्ण बनाएको छ।


२०७८ चैत ११ गते उहाँकै उपस्थितिमा शिलान्यास गरिएको यो भवन आज व्यवस्थित, प्रविधिमैत्री र सेवामुखी संरचनाका रूपमा उभिएको छ। भरतपुर महानगरले अघि सारेको ‘भरतपुर मोडेल’ विकास अवधारणालाई संस्थागत रूप दिने यस भवनलाई सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहको केन्द्रका रूपमा हेरिएको छ।


करिब ५३ करोड ३२ लाख ६४ हजार रुपैयाँको लागतमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा निर्माण गरिएको यो २२१ कोठे प्रशासकीय भवन पूर्ण रूपमा अपाङ्गमैत्री छ। आधुनिक आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको भवन ५ बिघा १५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ, जहाँ भूमिगत पार्किङ, लिफ्ट सुविधा, पुस्तकालय, सांस्कृतिक म्युजियम हल, आठवटा बैठक कक्षसहित प्रशासन सञ्चालनका सबै आधारभूत र अत्याधुनिक पूर्वाधार समेटिएका छन्।
यसअघि छरिएका र जीर्ण भवनबाट सेवा दिनुपरेको बाध्यतालाई अन्त्य गर्दै अब महानगरका सम्पूर्ण सेवा एउटै छानामुनिबाट एकीकृत रूपमा प्रवाह हुनेछन्। यसले सेवाग्राहीलाई सहजता, समयको बचत र गुणस्तरीय सेवा प्रदान गर्नुका साथै कर्मचारीको कार्यक्षमतामा पनि उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ।

यो भवन केवल इँटा, सिमेन्ट र संरचनाको परिणाम मात्र होइन; यो भरतपुरवासीको भरोसा, जनप्रतिनिधिको प्रतिबद्धता र विकासप्रतिको साझा संकल्पको प्रतिफल हो। आगामी १०० वर्षसम्म महानगरवासीलाई सेवा, सुविधा र समृद्धिको मार्गमा अघि बढाउने आधारस्तम्भका रूपमा यो प्रशासकीय भवन रहने विश्वास गरिएको छ।
समस्त महानगरबासीको साथ, सहयोग र विश्वासले सम्भव भएको यो उपलब्धिले स्थानीय सरकारलाई अझ जिम्मेवार, पारदर्शी र जनमुखी बनाउने थप ऊर्जा प्रदान गरेको छ। विकास, सुशासन र सेवा प्रवाहको सन्तुलित अभ्यासका रूपमा अघि बढिरहेको ‘भरतपुर मोडेल’ अब देशभरका स्थानीय तहका लागि आशा, भरोसा र अनुकरणीय उदाहरणका रूपमा स्थापित हुँदै गएको छ।
