खेमराज भट्ट, माघ ५
काठमाडौं — मञ्जुश्री संवत् २८६२ औं ता ल्हो (घोडा) वर्षको पावन अवसरमा आयोजित सोनाम ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम–२०८२ राजधानी काठमाडौंमा भव्य, उल्लासपूर्ण र ऐतिहासिक वातावरणबीच सम्पन्न भएको छ।
तामाङ समाज तौलुङ्ग तथा तौलुङ्ग डम्फु समाज, बूढानीलकण्ठ नगरपालिका–१, तौलुङ्ग, काठमाडौंको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति, परम्परा, कला र पहिचानलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो। कार्यक्रमस्थल परम्परागत सजावट, सांस्कृतिक झाँकी र रंगीन पहिरनमा सुसज्जित हुँदा ल्होछारको उल्लास झन् प्रस्ट देखिन्थ्यो।
कार्यक्रममा तामाङ समुदायको पहिचान बोकेको परम्परागत डम्फु नाच, तामाङ सेलो गीत–संगीत, सांस्कृतिक झाँकी तथा विविध मौलिक प्रस्तुतिहरूले दर्शकको मन जित्न सफल भए। कलाकारहरूको सशक्त प्रस्तुति र समुदायको सक्रिय सहभागिताले कार्यक्रमलाई थप आकर्षक र स्मरणीय बनाएको थियो।
ल्होछार नयाँ वर्षको सुरुवात मात्र नभई आपसी सद्भाव, भाइचारा, शान्ति र सकारात्मक सोचको सन्देश बोकेको पर्व भएकाले कार्यक्रममा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिएको थियो। यसले समुदायभित्र एकता, सहकार्य र सांस्कृतिक चेतनालाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ थियो।
आयोजक संस्थाका प्रतिनिधिहरूले सोनाम ल्होछार केवल पर्व मात्र नभई तामाङ समुदायको इतिहास, संस्कार र सांस्कृतिक धरोहर संरक्षण गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै यस्ता सांस्कृतिक कार्यक्रमहरूले भावी पुस्तामा मौलिक संस्कृतिप्रति गर्व, पहिचान र चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे। उनीहरूले परम्परागत संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता पनि जनाए।
कार्यक्रमले स्थानीय स्तरमा सांस्कृतिक एकता सुदृढ गर्नुका साथै तामाङ समुदायको कला, संस्कृति र पहिचानलाई राष्ट्रिय स्तरसम्म चिनाउन महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाइ छ। सोनाम ल्होछारको अवसरमा आयोजित यस बृहत् सांस्कृतिक कार्यक्रमले विविधताभित्रको एकता र नेपाली समाजको सांस्कृतिक समृद्धिलाई उजागर गरेको निष्कर्ष निकालिएको छ।
