खखडेहरा पर्वको रौनक: राना थारू संस्कृतिको अनौठो परम्परा

धनगढी, फागुन २६
सुदूरपश्चिम प्रदेशमा राना थारू समुदायको परम्परागत तथा सांस्कृतिक पर्व ‘खखडेहरा’ को अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। प्रदेश सरकारले राना थारू समुदायको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको यस पर्वलाई सम्मान गर्दै सोमबार (आज) एक दिन सार्वजनिक बिदा घोषणा गरेको हो।

कैलाली र कञ्चनपुर जिल्लामा मुख्य रूपमा बसोबास गर्ने राना थारू समुदायले होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्व का रूपमा विशेष विधि र परम्परागत शैलीमा मनाउने प्रचलन छ। समुदायको आस्था, विश्वास र सामाजिक एकताको प्रतीक मानिने यो पर्व वर्षौंदेखि मौलिक परम्परासहित निरन्तर मनाइँदै आएको छ।

खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरू एकत्रित भएर गाउँबाहिर विशेष स्थानमा पुग्छन् र ‘खखडेहरा फुटाउने’ परम्परा पूरा गर्छन्। यस क्रममा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङग्रा, सात प्रकारका अन्न तथा सुकेको गोबर जस्ता सामग्री प्रयोग गरिन्छ। गाउँलेहरूले बाहिरबाट ल्याएका यी सामग्रीहरू एक ठाउँमा राखेर गाउँका प्रधान वा चौकीदारले सामूहिक रूपमा फुटाउने चलन रहेको छ।

स्थानीय विश्वासअनुसार यसरी खखडेहरा फुटाउँदा गाउँमा रोगब्याधी, महामारी र विभिन्न विपत्ति नलाग्ने मान्यता छ। त्यसपछि समुदायका सदस्यहरू गाउँबाहिरै परम्परागत विधिबाट पूजा–आराधना गरी गाउँको सुख, शान्ति र समृद्धिको कामना गर्छन्।

खखडेहरा फुटाइसकेपछि घर फर्किँदा पछाडि फर्केर हेर्न नहुने धार्मिक मान्यता पनि समुदायमा प्रचलित छ। घर फर्केपछि होली खेल्दा प्रयोग गरिएको धुलो वा खरानी लिएर गाउँका भलमन्सा, प्रधान, अगुवा तथा जेष्ठ नागरिकहरूको घरमा पुगेर टीका लगाइ आशिर्वाद लिने र आपसी खुसी साटासाट गर्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ।

राना थारू समुदायमा होली पर्व केवल एक दिन मात्र नभई एक महिनासम्म मनाइने सांस्कृतिक उत्सव हो। फागु पूर्णिमादेखि सुरु हुने होली राति–राति परम्परागत गीत, नाच र संस्कृतिसँगै मनाइन्छ। अन्तिम दिन खखडेहरा पर्व सम्पन्न भएपछि मात्र होली पर्व औपचारिक रूपमा समाप्त भएको मानिन्छ।
स्थानीय अगुवाहरूका अनुसार गर्मी बढ्दै जाने समयसँगै विभिन्न रोग तथा प्रकोपको जोखिम बढ्ने विश्वासका कारण समुदायले सामूहिक रूपमा यो पर्व मनाउँदै आएको हो। सामूहिक पूजा, अनुष्ठान र संस्कृतिका माध्यमबाट गाउँको सुरक्षा, स्वास्थ्य र समृद्धिको कामना गर्ने परम्परा यस पर्वको मुख्य उद्देश्य मानिन्छ।

राना थारू समुदायको बसोबास बढी रहेका कैलाली र कञ्चनपुरका विभिन्न बस्तीहरूमा यस अवसरमा खखडेहरा महोत्सव, सांस्कृतिक कार्यक्रम, नाचगान तथा सामूहिक जमघटसमेत आयोजना गरिने गरेको छ। यसले स्थानीय संस्कृतिको संरक्षण मात्र होइन, सामाजिक सद्भाव र समुदायबीचको एकता अझ बलियो बनाउने काम समेत गर्दै आएको छ।

मौलिक परम्परा, धार्मिक आस्था र सामूहिक एकताको प्रतीक बनेको खखडेहरा पर्व आज पनि राना थारू समुदायको पहिचान र सांस्कृतिक गौरवका रूपमा जीवित रहेको छ। सुदूरपश्चिमको सांस्कृतिक विविधतालाई झल्काउने यो पर्वले स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply