धनगढीमा खाद्य गुणस्तर सुधार अभियान तीव्र : अर्धवार्षिकमा ९७६ नमुना परीक्षण, बजार अनुगमनबाट सुधार संकेत

हेमा भट्ट, फागुन २९
धनगढी। उपभोक्तालाई सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले सञ्चालन गरेको अभियानले सकारात्मक परिणाम देखाउन थालेको छ। आर्थिक वर्ष २०८२/८३ को पौष मसान्तसम्मको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गर्दै कार्यालयले खाद्य उद्योग नियमन, बजार अनुगमन, प्रयोगशाला परीक्षण र जनचेतनामूलक कार्यक्रमलाई समन्वित रूपमा अघि बढाउँदा बजारमा सुधारका संकेत देखिन थालेको जनाएको छ।

कार्यालयका अनुसार अर्धवार्षिक अवधिमा १० वटा नयाँ खाद्य उद्योगलाई अनुमति पत्र जारी गरिएको छ भने २८ उद्योगको अनुमति नवीकरण गरिएको छ। साथै २४ वटा उद्योग स्थापना गर्न सिफारिस गरिएको छ। उद्योग सञ्चालनअघि स्वच्छता मापदण्ड पूरा गर्नुपर्ने, प्रयोगशाला परीक्षणमार्फत गुणस्तर प्रमाणित हुनुपर्ने तथा उत्पादनमा आवश्यक विवरणसहितको लेबल अनिवार्य हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ। यस प्रक्रियाले उद्योगमै सुधार ल्याई उपभोक्तामैत्री तथा गुणस्तरीय उत्पादनलाई प्रवर्द्धन गर्न सहयोग पुगेको कार्यालयले जनाएको छ।

बजारमा गुणस्तरीय खाद्य वस्तु सुनिश्चित गर्न कार्यालयले अनुगमनलाई पनि तीव्र बनाएको छ। यस अवधिमा ३९ पटक खाद्य बजार अनुगमन, २६ पटक होटल तथा रेस्टुरेन्ट अनुगमन र ७४ वटा खाद्य उद्योगको अनुगमन गरिएको छ। यसका साथै दाना उद्योग तथा दाना बजारमा समेत अनुगमन गरिएको कार्यालयले जनाएको छ। अनुगमनका क्रममा उपभोग्य मिति सकिएका, गुणस्तरहीन तथा दूषित खाद्य वस्तु जफत गरी नष्ट गरिएको छ। हालसम्म करिब १ लाख ७२ हजार रुपैयाँ बराबरका खाद्य पदार्थ नष्ट गरिएको तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ। कार्यालयका अनुसार यसले बजारमा अनुशासन कायम गर्न र व्यापारीलाई सचेत गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

खाद्य स्वच्छता निगरानीलाई थप प्रभावकारी बनाउन नमुना संकलन तथा प्रयोगशाला परीक्षणलाई पनि प्राथमिकता दिइएको छ। अर्धवार्षिक अवधिमा ५० वटा औपचारिक खाद्य नमुना, ११० वटा सर्भिलेन्स नमुना र तरकारी तथा फलफूलमा विषादी अवशेष परीक्षणका लागि २०० नमुना संकलन गरिएको छ। प्रयोगशालामा भने कुल ९७६ वटा नमुना विश्लेषण गरिएको छ, जसमा करिब ४.२ प्रतिशत नमुना मात्र प्रतिकूल देखिएको कार्यालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशमा खाद्य नमुना परीक्षण गर्ने एकमात्र प्रयोगशाला यही कार्यालयमा सञ्चालनमा रहेकोले क्षेत्रीय स्तरमा खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुगेको बताइएको छ।

यस अवधिमा खाद्य स्वच्छता तथा गुणस्तरसँग सम्बन्धित ८ वटा उजुरी तथा गुनासो पनि कार्यालयमा प्राप्त भएका थिए। ती उजुरीहरूमा बोतलको पानीको गुणस्तर, प्लास्टिक चामलको हल्ला तथा लेबलसम्बन्धी समस्या प्रमुख रूपमा उठाइएका थिए। कार्यालयले प्राप्त गुनासोलाई गम्भीरतापूर्वक लिएर तत्काल अनुगमन तथा परीक्षण गरी आवश्यक व्यवस्थापन गरेको जनाएको छ।

होटल तथा रेस्टुरेन्टमा स्वच्छता कायम गराउन स्तरीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ। यस क्रममा १६ वटा होटल तथा रेस्टुरेन्टको मूल्यांकन गरी स्वच्छताको आधारमा वर्गीकरण गरिएको छ। केही होटल तथा रिसोर्टलाई ‘अति उत्तम’ र ‘उत्तम’ स्तरमा वर्गीकरण गरिएको छ भने केहीलाई सामान्य स्तरमा राख्दै सुधारका लागि सुझाव दिइएको कार्यालयले जनाएको छ। यसले सेवा क्षेत्रमा स्वच्छता प्रतिस्पर्धा बढाउन मद्दत पुगेको विश्वास गरिएको छ।

आर्थिक पक्षतर्फ पनि कार्यालयले सकारात्मक प्रगति हासिल गरेको जनाएको छ। नमुना परीक्षण, अनुज्ञापत्र जारी, नवीकरण तथा सिफारिस दस्तुरबाट कुल ७ लाख ३० हजार ७११ रुपैयाँ राजस्व संकलन गरिएको छ। साथै चालु तथा पूँजीगत खर्चतर्फ करिब १६.१८ प्रतिशत वित्तीय प्रगति भएको कार्यालयले जनाएको छ।

प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा कार्यालय प्रमुख हरिराम प्रधानले खाद्य स्वच्छता र गुणस्तर सुनिश्चित गर्न उद्योग अनुमति प्रणाली, बजार अनुगमन, नमुना परीक्षण, जनचेतना तथा कानुनी व्यवस्थालाई सुदृढ गर्दै अघि बढाइएको जानकारी दिए। उनले आगामी दिनमा हुने ठूला धार्मिक तथा सांस्कृतिक मेलाहरूमा समेत खाद्य स्वच्छता विशेष रूपमा ध्यान दिनुपर्ने उल्लेख गरे। विशेषगरी कञ्चनपुरमा लाग्ने बैहेडा बाबा मेला र भकुन्डा मेला जस्ता स्थानमा विक्री हुने खाद्य पदार्थ गुणस्तरीय र स्वच्छ हुनुपर्नेमा उनले जोड दिएका थिए।

कार्यक्रममा उपस्थित पत्रकारहरूले खाद्य सुरक्षा, बजार व्यवस्थापन, विषादी परीक्षण तथा उद्योग अनुगमनसम्बन्धी विभिन्न प्रश्न उठाएका थिए। कार्यालय प्रमुख प्रधानले ती प्रश्नहरूको तथ्यपरक र स्पष्ट जवाफ दिँदै उपभोक्ता हितलाई केन्द्रमा राखेर काम भइरहेको जानकारी गराए। कार्यक्रममा कार्यालयका पदाधिकारी तथा सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रम मर्यादित, अन्तरक्रियात्मक र जानकारीमूलक रूपमा सम्पन्न भएको जनाइएको छ।

कार्यालयले आगामी दिनमा खाद्य स्वच्छता तथा गुणस्तर सुधार अभियानलाई अझ सशक्त बनाउँदै उपभोक्तालाई सुरक्षित खाद्य पदार्थ उपलब्ध गराउने, उद्योग क्षेत्रमा स्वच्छता संस्कार विकास गर्ने तथा बजार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply