धनगढीमा ‘किङ्ग हिल्स गार्मेन्ट’ सञ्चालनमा : पत्रकार प्रपालाको उत्पादनमूलक यात्रामा नयाँ अध्याय

हेमा भट्ट
धनगढी, फागुन — कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरस्थित एक्सिस प्लस टु कलेज नजिकै स्थापना गरिएको ‘किङ्ग हिल्स गार्मेन्ट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।

पत्रकारितासँगै उत्पादनमूलक क्षेत्रमा हात हाल्ने उद्देश्यका साथ पत्रकार हरिष सिंह प्रपालाले स्थापना गरेको उक्त गार्मेन्ट उद्योगको उद्घाटन कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा र संघका पूर्व अध्यक्ष पुष्पराज कुँवरले संयुक्त रूपमा गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओझाले मुलुक आर्थिक तथा सामाजिक संक्रमणको अवस्थाबाट गुज्रिरहेको समयमा नयाँ उद्योग स्थापना गर्नु साहसिक र प्रेरणादायी कदम भएको बताए। “देशभित्रै उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नु अत्यन्त सकारात्मक कुरा हो,” उनले भने, “यसले स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन मद्दत गर्छ।” उनले उद्योगको सफल र दिगो सञ्चालनका लागि शुभकामना व्यक्त गरे।

संघका पूर्व अध्यक्ष पुष्पराज कुँवरले पनि यस्ता उद्योगहरूको स्थापना हुनु स्थानीय विकासका दृष्टिले उत्साहजनक संकेत भएको बताए। उनका अनुसार साना तथा मध्यम स्तरका उद्योगहरू नै स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने मुख्य आधार बन्न सक्छन्। “यस्ता उद्योगले युवालाई आफ्नै ठाउँमा काम गर्ने अवसर दिन्छन्, जसले वैदेशिक रोजगारीतर्फको निर्भरता कम गर्न पनि सहयोग पुग्छ,” उनले उल्लेख गरे।
गार्मेन्ट उद्योगका सञ्चालक तथा एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरो प्रमुख हर्क सिंह प्रपाला (हरिष)ले करिब ४० लाख रुपैयाँको लगानीमा उद्योग स्थापना गरिएको जानकारी दिए। लामो समयदेखि पत्रकारितामा सक्रिय उनले देशको चुनौतीपूर्ण आर्थिक अवस्थाबीच पनि केही उत्पादनमूलक काम गर्नुपर्ने सोचका साथ गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएको बताए।

“समाचार लेखेर मात्र होइन, उत्पादन गरेर पनि समाजमा योगदान दिन सकिन्छ भन्ने विश्वासले यो उद्योग सुरु गरिएको हो,” प्रपालाले भने, “पत्रकारितासँगै व्यवसायिक क्षेत्रमार्फत पनि स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्य छ।”
उनका अनुसार उद्योगले विशेषगरी विद्यालयका लागि आवश्यक स्कुल ड्रेस, राष्ट्रिय पोशाक दौरा–सुरुवाल तथा अन्य विभिन्न प्रकारका गुणस्तरीय कपडाहरू उत्पादन गर्ने लक्ष्य राखेको छ। स्थानीय बजारको मागलाई ध्यानमा राख्दै गुणस्तरीय उत्पादनमार्फत उद्योगलाई क्रमशः विस्तार गर्ने योजना रहेको उनले बताए।

हाल उद्योगमा ३५ वटा सिलाइ मेसिन सञ्चालनमा रहेका छन्। उद्योगमार्फत २५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको छ भने भविष्यमा उत्पादन विस्तारसँगै थप रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको सञ्चालक प्रपालाले बताए।

उद्योगको उत्पादन प्रमुखका रूपमा झन्डै दुई दशकको अनुभव बटुलेका केशव सिंह बिक रहेका छन्। उनीहरूको अनुभव र सीपले उद्योगको उत्पादनलाई गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। साथै सीप भएका तर रोजगारी नपाएका व्यक्तिहरूलाई प्राथमिकता दिएर कामको अवसर प्रदान गरिएको पनि उद्योग व्यवस्थापनले जनाएको छ।

स्थानीय स्तरमै उत्पादन बढाउने र युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको ‘किङ्ग हिल्स गार्मेन्ट’ले धनगढी क्षेत्रमा साना उद्योगको सम्भावनालाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। उद्योग सञ्चालनसँगै स्थानीय अर्थतन्त्र चलायमान हुने तथा सीप भएका युवालाई अवसर मिल्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply