चैत १९
नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी हाल पाकिस्तानमा छन्। पाकिस्तान सुपर लिग टोली इस्लामावाद युनाइटेडमा आबद्ध ऐरीले अहिलेसम्म भने प्लेइङ-११ मा स्थान बनाएका छैनन्।
सुदूरपश्चिमको कञ्चनपुरमा हुर्किएका ऐरी नेपाली टोलीका भरपर्दा अलराउन्डर हुन्। नेपालका लागि महत्त्वपूर्ण खेल जिताएका ऐरीलाई नेपाली फ्यानले जर्सी नम्बरबाटै पहिचान गर्न सक्छन्।
उनको अनुहार नदेखे पनि ४५ नम्बर देखेपछि सबैले चिनिहाल्छन् उनी ऐरी हुन् भनेर।
सन् २०१४ देखि ऐरीले ४५ को जर्सी लगाएर खेल्न थालेका हुन्। उनले पहिलो पटक तत्कालीन एनसेल नेपाल प्रिमियर लिगमा पञ्चकन्या तेजका लागि ४५ नम्बरको जर्सी लगाएका थिए।
के उनले सो नम्बर रोजेरै लिएका हुन्? जर्सी नम्बरको पछाडि कुनै कथा छ?
‘त्यतिबेला कसैले पनि जर्सी नम्बर कति लगाउने भनेर सोधेको थिएन। कसैले जर्सीमा माथि ऐरी र तल ४५ नम्बरको लेखेर ल्याइदिए,’ ऐरीले आफूले लगाउने जर्सी नम्बरको कथा सुदूरपश्चिम रोयल्सको पडकास्टमा सुनाए, ‘मैले रोजेर राखेको नम्बर पनि होइन। टिमले नै यतिकै राखिदिएको नम्बर हो।’
त्यतिबेला कलिलै उमेरमा प्रभावशाली खेल देखाउन सफल भए। त्यसैले उनले उक्त नम्बर लगाउनुलाई राम्रो माने।
‘४५ नम्बरको जर्सी लगाएर खेल्दा राम्रै भयो। त्यतिबेलादेखि मेरो जर्सीमा ४५ लेखिएको हो,’ उनी भन्छन्, ‘अब मेरो क्रिकेटका सबै खेल ४५ नम्बर लगाएरै खेल्छु।’
जर्सी नम्बरसँगै उनको अर्को शैली पनि नेपाली फ्यानलाई याद छ। त्यो भनेको उनी हेलमेट लगाउनुअघि टाउकोमा कालो कपडा बाँध्छन्।
कालो कपडा बाँध्नुको पछाडि भने घटना जोडिएको छ।
‘सानै उमेरमा क्रिकेट खेल्दा मेरो साइजको हेलमेट थिएन। टाउको सानो भएकोले हेलमेटको साइज मिलाउनका लागि कालो कपडा बाँध्ने गर्थे,’ ऐरीले भने, ‘पछि यो विषयमा ज्योतिषलाई पनि सोधे। ज्योतिषले कालो कपडा प्रयोग गर्दा मेरो ग्रहलाई राम्रो हुन्छ भन्नुभयो। त्यसैले टाउँकोमा कालो कपडा प्रयोग गर्दै आएको हुँ। ग्रह परिवर्तन भइरहन्छ। त्यहिँअनुसार कहिले कालो कपडा टाउकोमा राखेर हेलमेट लगाउछँ भने कहिले नलगाइ खेल्छु।’
