कल्पना साउद, जेठ ३
कञ्चनपुरका चार सामुदायिक विद्यालयले एसईई २०८२ मा शून्य नतिजा ल्याएपछि सरकारी शिक्षाको गुणस्तरमाथि गम्भीर प्रश्न उठेको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ७८ जना विद्यार्थी सहभागी भए पनि एक जना पनि उत्तीर्ण हुन सकेनन्।
शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका र लालझाडी गाउँपालिकाका चार विद्यालय ‘निल’ भएका हुन्। भीमदत्त नगरपालिका-३ तिलकपुरस्थित बैजनाथ माध्यमिक विद्यालय, भीमदत्त-८ तिलाचौरको महाकाली शारदा पिठ विद्याआश्रम, लालझाडी-३ छोटी पर्सियाको सरस्वती माध्यमिक विद्यालय र लालझाडी-४ पर्सियाको सरस्वती माध्यमिक विद्यालयको नतिजा शून्य आएको हो।
तथ्यांकअनुसार बैजनाथ माविका ५, महाकाली शारदा पिठ विद्याआश्रमका २, छोटी पर्सियाको सरस्वती माविका ४४ तथा पर्सियाको सरस्वती माविका २७ विद्यार्थी सबै अनुत्तीर्ण भएका छन्।
लालझाडी गाउँपालिकामा लगातार तीन वर्षदेखि कुनै न कुनै विद्यालय एसईईमा निल हुँदै आएका छन्। २०८० मा छोटी पर्सियाको सरस्वती मावि र बैजनाथ मावि जाई, २०८१ मा नौरङ्गास्थित शारदा राष्ट्रिय मावि र यस वर्ष फेरि दुई विद्यालय निल भएका हुन्। यसले पालिकाको शैक्षिक अवस्था झन् चिन्ताजनक बन्दै गएको देखिएको छ।
छोटी पर्सियाको सरस्वती माविका प्रधानाध्यापक तारामणी शर्माले यस वर्षको नतिजा अप्रत्याशित भएको बताए। उनका अनुसार विद्यालयले अतिरिक्त कक्षा सञ्चालनदेखि विभिन्न सुधारका प्रयास गरेको भए पनि अपेक्षित उपलब्धि हासिल हुन सकेन। उनले शिक्षकहरूको कमजोरी स्वीकार गर्दै नतिजाको नैतिक जिम्मेवारी लिन तयार रहेको बताए।
लालझाडी गाउँपालिका अध्यक्ष निर्मल रानाले पालिकाले अतिरिक्त कक्षा, सेवा-सुविधा र शैक्षिक सुधारका कार्यक्रम लागू गरे पनि नतिजामा सुधार नआएकाले अब जिम्मेवारमाथि कारबाही गरिने चेतावनी दिएका छन्।
यता भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले कमजोर तथा शून्य नतिजा ल्याउने विद्यालयसँग स्पष्टीकरण माग गरिने जानकारी दिए। नगर प्रवक्ता पदमराज अवस्थीका अनुसार यस वर्षदेखि नतिजाकै आधारमा दरबन्दी मिलान, विद्यालय डाउनसाइज लगायतका सुधार कार्यक्रम अघि बढाइनेछ।
शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले सरकारी लगानीमा सञ्चालित विद्यालयको शून्य नतिजा अत्यन्त दुःखद भएको बताए। उनले महाकाली शारदा पिठ विद्याआश्रमको नतिजामा प्राविधिक त्रुटि भएको हुनसक्ने भन्दै सच्याउन पत्राचार गरिएको जानकारी दिए। साथै उनले शिक्षक, विद्यालय प्रशासन र सरोकारवालाबीच गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरे।
सरकारी विद्यालयको कमजोर नतिजापछि अभिभावकहरू निराश बनेका छन्। राज्यको ठूलो लगानी हुँदाहुँदै पनि विद्यार्थीको भविष्य जोखिममा पर्दा सम्बन्धित निकाय गम्भीर नदेखिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।

