जेठ ६
कर्णाली प्रदेशमा पछिल्लो समय सडक सुरक्षा र ट्राफिक सचेतनासम्बन्धी अभियान प्रभावकारी रूपमा अघि बढिरहेको छ । ट्राफिक प्रहरी प्रमुख मुकुन्दप्रसाद रिजाल को नेतृत्वमा सञ्चालन भइरहेको उक्त अभियानले सर्वसाधारणबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ ।
प्रदेशका विभिन्न जिल्ला, राजमार्ग, बजार क्षेत्र तथा विद्यालयसम्म पुगेर ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । कर्णालीको विकट भूगोल, साँघुरा सडक, तीव्र गति, ओभरलोड तथा ट्राफिक नियमको कमजोर पालनाका कारण दुर्घटनाको जोखिम उच्च रहँदै आएको अवस्थामा एसपी रिजालले “सडक सुरक्षा सबैको साझा जिम्मेवारी हो” भन्ने सन्देशलाई प्राथमिकतामा राखेका छन् ।
एसपी रिजाल आफैं फिल्डमा पुगेर चालक, सहचालक, विद्यार्थी, यात्रु तथा स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै ट्राफिक नियमको पालना गर्न आग्रह गरिरहेका छन् । उनले हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरेर सवारी नचलाउने तथा सुरक्षित यात्राको संस्कार विकास गर्नुपर्ने विषयमा निरन्तर सचेत गराउँदै आएका छन् ।
विशेषगरी विद्यालय तथा क्याम्पसहरूमा आयोजित ट्राफिक शिक्षा कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ । कार्यक्रममा सडक अनुशासन, जेब्रा क्रसिङको प्रयोग, ट्राफिक संकेतको महत्व तथा दुर्घटना न्यूनीकरणका उपायबारे जानकारी दिइँदै आएको छ ।
त्यसैगरी ग्रामीण सडक तथा राजमार्ग क्षेत्रमा यात्रुवाहक तथा मालवाहक सवारीको नियमित चेकजाँच, चालकको स्वास्थ्य अवस्था परीक्षण तथा सवारी साधनको प्राविधिक निरीक्षणलाई समेत तीव्र बनाइएको छ । स्थानीयवासीका अनुसार यसले सडक दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पार्न थालेको छ ।
स्थानीय नागरिकहरू भन्छन्, “पहिला ट्राफिक प्रहरी केवल कारबाही गर्ने निकायजस्तो लाग्थ्यो, अहिले भने जनताको साथी बनेर सचेतना फैलाइरहेको अनुभूति भएको छ ।”
एसपी रिजालले सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरी मात्र नभई स्थानीय सरकार, विद्यालय, यातायात व्यवसायी तथा सर्वसाधारण सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । उनले कर्णाली प्रदेशमा सुरक्षित, व्यवस्थित र जिम्मेवार यातायात संस्कृतिको विकास गर्न ट्राफिक प्रहरी निरन्तर सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
कर्णालीका दुर्गमदेखि शहरी क्षेत्रसम्म ट्राफिक सचेतनाको सन्देश फैलाउँदै फिल्डमै सक्रिय देखिएका एसपी मुकुन्दप्रसाद रिजालको कार्यशैलीप्रति अहिले स्थानीय स्तरमा प्रशंसा बढ्दै गएको छ ।
