मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

असोज २० गते । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको मातातीर्थ–चोभार १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। मातातीर्थ सबस्टेसनदेखि चोभार सबस्टेसनसम्मको करिब छ किलोमिटर लाइन शुक्रबारदेखि चार्ज गर्ने तयारी गरिएको छ।

लाइन चार्ज भएपछि मातातीर्थ–चोभार खण्ड राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ र उपत्यकामा विद्युत् आपूर्तिका लागि थप वैकल्पिक मार्ग उपलब्ध हुनेछ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले चोभार सबस्टेसन सञ्चालनमा आएपछि उपत्यका र आसपासको विद्युत् माग तथा आपूर्तिबीच सन्तुलन कायम गर्न सहज हुने बताउनुभयो।

आगामी हिउँदमा बढ्ने विद्युत् माग व्यवस्थापन गर्न प्राधिकरणले असोज ८ गते उक्त लाइन १५ दिनभित्र चार्ज गर्ने निर्णय गरेको थियो। त्यसका लागि चोभार सबस्टेसनमा दुईवटा बे निर्माण गरिएको छ। सबस्टेसनमा स्थानीय आपूर्तिका लागि ११ केभीका नौ फिडर छन्, जसबाट कीर्तिपुर, फर्पिङ, पुल्चोक, एकान्तकुनालगायत क्षेत्रमा विद्युत् आपूर्ति गरिनेछ। यसबाट ती क्षेत्रमा भोल्टेज सुधार तथा आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ।

मुख्यतः त्रिशूली र मर्स्याङ्दी जलाधारका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् मातातीर्थ सबस्टेसन हुँदै उपत्यकामा आपूर्ति हुँदै आएको छ। नयाँ प्रसारण लाइन सञ्चालनमा आएपछि त्यसको वैकल्पिक आपूर्ति मार्ग थपिनेछ। चोभारदेखि पाटन सबस्टेसनसम्मको करिब साढे चार किलोमिटर १३२ केभी भूमिगत प्रसारण लाइन निर्माणाधीन छ भने पाटन सबस्टेसनलाई पनि १३२ केभी स्तरमा स्तरोन्नति गर्ने काम अघि बढाइएको छ।

काठमाडौँ, ललितपुर र भक्तपुरलाई समेटेर १३२ केभी प्रसारण लाइनको रिङ संरचना बनाउने उद्देश्यले थानकोट–चापागाउँ–भक्तपुर आयोजना आर्थिक वर्ष २०५५/५६ देखि नेपाल सरकार र विद्युत् प्राधिकरणको लगानीमा सुरु भएको थियो। काठमाडौँ र भक्तपुरतर्फको निर्माण सम्पन्न भइसके पनि ललितपुरतर्फ खोकना, बुङमती, हरिसिद्धि र लामाटारका स्थानीयले रुट परिवर्तनको माग गर्दै अवरोध गरेपछि उक्त खण्ड अघि बढ्न सकेको छैन।

ललितपुरतर्फको अवरोधका कारण उपत्यकाको १३२ केभी प्रसारण प्रणालीलाई पूर्ण रिङ संरचनामा सञ्चालन गर्ने योजना प्रभावित हुँदै आएको छ। यसबीच चोभारमा १३२/११ केभी सबस्टेसन निर्माण गरी वैकल्पिक संरचनाबाट उपत्यकाको विद्युत् आपूर्ति सुदृढ बनाउने काम अघि बढाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *