कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताको प्रक्रिया सुरु

असोज २० गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमितिका लागि मंगलबारदेखि उम्मेदवारी दर्ता सुरु भएको छ। महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन्।

निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा दर्ताको प्रक्रिया अघि बढाएको हो। उम्मेदवारी दर्ताका लागि मंगलबार दिउँसो १२ः३० देखि अपराह्न ४ बजेसम्मको समय तोकिएको निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले जानकारी दिनुभयो।

महाधिवेशनबाट चयन हुने केन्द्रीय कार्यसमितिको आकार १६७ बाट बढाएर २९७ सदस्यीय बनाइएको छ। सोमबार पारित संशोधित विधानअनुसार पदाधिकारीको सङ्ख्या पनि १४ बाट बढाएर २६ पुर्‍याइएको छ।

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएसँगै उपसभापतिको सङ्ख्या चार पुगेको छ। महामन्त्री तीन जना रहने र त्यसमध्ये एक जना महिला अनिवार्य हुने व्यवस्था गरिएको छ।

यसैगरी दुई खुला सहमहामन्त्री थपिएपछि सहमहामन्त्रीको सङ्ख्या ११ पुगेको छ। पार्टीमा प्रवक्ता पद पनि थप गरिएको छ भने आवश्यकताअनुसार सहप्रवक्ताको सङ्ख्या थप गर्न सकिने कांग्रेसले जनाएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *