असोज २० गते । नेपाल विद्युत् प्राधिकरणले निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेका ५४०.४७ मेगावाट क्षमताका २७ जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसिओडी) थप गरेको छ।
विद्युत् खरिद सम्झौता (पिपिए) गरिसकेका तर तोकिएको समयभित्र आयोजना पूरा गर्न नसकेका आयोजनाको भौतिक प्रगति र वास्तविक अवस्था मूल्याङ्कन गरी आरसिओडी थप गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले निर्माणाधीन २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो। आवश्यक कागजात तथा प्रमाण पेस गरेका ‘क’ र ‘ख’ समूहका आयोजनाको आरसिओडी थप प्रक्रिया अघि बढाइएको हो।
‘क’ समूहमा आधारभूत दायित्व पूरा गरेका आयोजना छन् भने ‘ख’ समूहमा प्राधिकरणका कारण प्रसारण संरचना निर्माणमा ढिलाइ भएका, काबुबाहिरको परिस्थिति परेका वा कम्तीमा २५ प्रतिशत भौतिक प्रगति हासिल गरेका आयोजना समेटिएका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आरसिओडी थपसम्बन्धी निर्णय व्यक्तिको इच्छामा नभई स्पष्ट मापदण्ड र संस्थागत प्रणालीका आधारमा हुने व्यवस्था गरिएको बताउनुभएको छ। उहाँले निजी क्षेत्रको लगानी सुरक्षाप्रति सरकार संवेदनशील रहेको उल्लेख गर्दै प्रवर्धकले पनि आफ्नो दायित्व समयमै पूरा गर्नुपर्नेमा जोड दिनुभएको छ।
प्राधिकरणका अनुसार अहिले ८ हजार २९२ मेगावाट क्षमताका ३२० जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा छन्। तीमध्ये ‘क’ समूहमा ४ हजार ४९१ मेगावाटका १५० र ‘ख’ समूहमा १ हजार ४२० मेगावाटका ६८ आयोजना छन्।
‘ग’ समूहमा आवश्यक उत्पादन अनुमतिपत्र, वित्तीय व्यवस्थापन वा जग्गा व्यवस्थापन पूरा नगरेका तथा आरसिओडी सकिँदासम्म २५ प्रतिशतभन्दा कम भौतिक प्रगति गरेका आयोजना छन्। ‘घ’ समूहमा अनिवार्य दायित्व पूरा नगरेका वा सर्वेक्षण तथा उत्पादन अनुमतिपत्र खारेज भएका आयोजना राखिएका छन्।
‘ख’ समूहका आयोजनाको भने नियमित अनुगमन गरिनेछ। प्राधिकरणको विद्युत् व्यापार विभागले समयमै आयोजना सम्पन्न गर्न आवश्यक निर्देशन दिने र कार्यान्वयनको अनुगमन गर्नेछ। आवश्यक देखिएमा छ महिनाभित्र पुनः वर्गीकरण गर्न सकिने व्यवस्था पनि गरिएको छ।
