शुनिल राना -असोज ३०, कञ्चनपुर-कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ र ५, गुलरियास्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण, वातावरणीय सन्तुलन र उपभोक्ताको हितलाई प्राथमिकतामा राख्दै आफ्नो २०औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सभाले वनको दिगो संरक्षणसँगै पर्यापर्यटन, वैकल्पिक ऊर्जा, खेलकुद र सामाजिक विकासका कार्यक्रमलाई अघि बढाउने निर्णय गरेको छ।
साधारण सभामा समूहका अध्यक्ष नित्यानन्द जेठाराले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वन संरक्षणदेखि विपन्न परिवारको सहयोग र उपभोक्ताको हकहितका क्षेत्रमा समूहले विभिन्न काम गर्दै आएको जानकारी दिए। उनका अनुसार २०५६ सालदेखि वन संरक्षण समूह गठन गरी काम सुरु गरिएको थियो भने २०६५ सालदेखि सामुदायिक वनका रूपमा दर्ता गरेर संरक्षण र विकासका गतिविधि अघि बढाइएको हो। करिब पाँच सय हेक्टर क्षेत्रफलमा फैलिएको वनको संरक्षण र व्यवस्थापनमा समूहले निरन्तर काम गर्दै आएको उनले बताए।
आर्थिक वर्ष २०८२-०८३ मा वन संरक्षणलाई प्रभावकारी बनाउन वन हेरालु परिचालन, रातिकालीन गस्ती, अग्निरेखा निर्माण, तारबार तथा दुई हेक्टर क्षेत्रमा झाडी सफाइका काम गरिएको अध्यक्ष जेठाराले जानकारी दिए। वनमा आश्रित परिवारलाई विद्युतीय चुलो वितरण गर्नुका साथै दाहसंस्कारका लागि निःशुल्क दाउरा उपलब्ध गराउने, विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्ने, खेलाडीलाई खेलकुद सामग्री तथा क्रिकेट गतिविधिमा सहयोग गर्ने र माछापालन एवं घुम्ती कोष सञ्चालनजस्ता कार्यक्रमसमेत गरिएको उनले बताए।
त्यसैगरी, ग्वासी समैजीका लागि ५० हजार रुपैयाँ सहयोग गरिएको तथा वन संरक्षण र सामाजिक उत्तरदायित्वलाई जोडेर विभिन्न गतिविधि सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ। संरक्षणका क्षेत्रमा गरेको योगदानका कारण समूहले गणेशमान सिंह राष्ट्रिय पुरस्कार प्राप्त गरेको पनि अध्यक्ष जेठाराले जानकारी दिए।
वन संरक्षणका काम निरन्तर भइरहे पनि वनमा रहेका ढलापडा काठ तथा विगतमा वैज्ञानिक वन व्यवस्थापनका लागि छुट्याइएका काठको बिक्री-वितरण प्रक्रिया सहज बनाउनुपर्नेमा उनले जोड दिए। वनमा उपलब्ध काठको उचित व्यवस्थापन र उपयोगबाट उपभोक्ता तथा स्थानीय समुदायले लाभ लिन सक्ने वातावरण बनाउन सम्बन्धित निकायसँग उनले आग्रह गरे।
कार्यक्रममा डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले हरियाली सामुदायिक वनले संरक्षणका क्षेत्रमा गरेका प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए। सुदूरपश्चिम प्रदेशका निवर्तमान सांसद तथा सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले हरियाली सामुदायिक वनले संरक्षणमा नमुना काम गरेको उल्लेख गर्दै वन, पर्यावरण र वन्यजन्तुको संरक्षण तथा उपचारका क्षेत्रमा भएका प्रयास महत्त्वपूर्ण रहेको बताए। उनले काठको बिक्री-वितरणलाई सहज बनाउन प्रदेश सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने धारणा राखे।
कार्यक्रमका प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले सामुदायिक वनलाई संरक्षणमा सीमित नराखी पर्यापर्यटनसँग जोडेर विकास गर्नुपर्ने बताए। प्रदेशभित्र काठको स्थानीय माग र आपूर्तिबीच सन्तुलन कायम गर्न प्रदेश सरकारले आवश्यक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले हरियाली सामुदायिक वनले जस्तै अन्य सामुदायिक वनले पनि प्रभावकारी संरक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
सभाले दिगो वन संरक्षण, पर्यापर्यटन प्रवर्द्धन, खेलमैदान निर्माण, वन हेरालु तथा घुम्ती कोष सञ्चालन, बेलकुण्डीको १३औँ टोलसम्बन्धी प्रस्तावको अनुमोदन र वैकल्पिक ऊर्जासहितका कार्यक्रमलाई अघि बढाउने प्रस्ताव पारित गरेको छ।
अध्यक्ष नित्यानन्द जेठाराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वन संरक्षणकर्मी, उपभोक्ता, जनप्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। वन संरक्षणलाई स्थानीय समुदायको आर्थिक, सामाजिक र वातावरणीय समृद्धिसँग जोड्ने लक्ष्यसहित अघि बढेको हरियाली सामुदायिक वनको आगामी कार्यदिशाले संरक्षणसँगै स्थानीय विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
