कात्तिक १ । डेढ महिनादेखि बन्द रहेको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलपछि कात्तिक १ देखि ३ गतेसम्म नाका खुल्ने भएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यस अवधिमा मालवाहक ट्रकलाई मात्र आवतजावतको अनुमति दिइनेछ। दसैँका लागि आवश्यक सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चिनियाँ पक्षले नेपाली आग्रह स्वीकार गर्दै नाका खोल्न सहमति जनाएको हो।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले चीनसँगको व्यापारिक आवागमन प्रभावित भएपछि भदौ १४ गतेदेखि तातोपानी नाका पनि बन्द भएको थियो। रसुवा र तातोपानी दुवै नाका बन्द हुँदा दसैँलक्षित सामग्री नेपाल भित्रिन सकेका थिएनन्।
बाढीका कारण रसुवातर्फ दसैँका लागि ल्याइँदै गरेका तीन सयदेखि चार सय कन्टेनर बगेका थिए भने केही सवारीचालक सम्पर्कविहीन भएका थिए। सामानको आपूर्ति प्रभावित हुँदा बजारमा अभाव र मूल्यवृद्धि भएको जनाइएको छ।
तातोपानी नाका अस्थायी रूपमा खुल्दा व्यवसायीलाई सामान भित्र्याउन सहज हुने र चाडपर्वका बेला आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
