असोज ३१ । यस वर्षको बडादसैँमा देशका अधिकांश स्थानमा मौसम घमाइलो रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शुक्रबार जारी गरेको दसैँ विशेष मौसमी बुलेटिनअनुसार दसैँ अवधिमा ठूलो वर्षा गराउने मौसमी प्रणालीको सम्भावना कम छ।
मौसमविद् निष्ठा निरौलाका अनुसार केही स्थानमा फाट्टफुट्ट हल्का वर्षा हुन सक्ने भए पनि समग्रमा मौसम सफा रहनेछ। मनसुन बाहिरिएसँगै देशका अधिकांश क्षेत्रमा आकाश खुल्ने क्रममा रहेको महाशाखाले जनाएको छ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपात र पहाडी भूभागका केही स्थानमा वर्षा हुन सक्ने सम्भावना छ। तराईका केही स्थानमा बिहानपख हुस्सु तथा कुहिरो लाग्न सक्ने अनुमान गरिएको छ।
मौसममा समयअनुसार परिवर्तन हुन सक्ने भएकाले दसैँमा लामो दूरीको यात्रा गर्नुअघि मौसमको अवस्था बुझ्न महाशाखाले आग्रह गरेको छ।
