असोज ३० । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना तथा दोस्रो बजार सुधारका लागि प्रक्रिया अघि बढाएको छ।
बोर्ड र नेप्सेका पदाधिकारीबीच बिहीबार भएको छलफलमा संस्थागत संरचना, स्वामित्व, सुशासन, प्रविधि, जनशक्ति र कारोबार प्रणाली सुधारका विषयमा विचारविमर्श भएको बोर्डले जनाएको छ।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टका अनुसार नेप्सेको पुँजी तथा स्वामित्व पुनर्संरचना र बजार व्यवस्थापन सुधारका लागि ३० भन्दा बढी विषयमा काम अघि बढाउने योजना छ। कारोबार प्रणाली सुधारसँगै लगानीका उपकरण र सेवाको विविधीकरणमा पनि जोड दिइने उहाँले बताउनुभयो।
नेप्सेका सञ्चालक समिति अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले पुनर्संरचनासम्बन्धी प्रतिवेदनमा तत्काल कार्यान्वयन गर्न सकिने सुझावलाई प्राथमिकता दिइने बताउनुभयो।
बोर्डले नेप्सेको पुनर्संरचना र दोस्रो बजारको प्रभावकारी सञ्चालनबाट पुँजी बजारमा लगानीका विकल्प विस्तार हुनुका साथै कारोबारको विश्वसनीयता र पारदर्शिता बढ्ने अपेक्षा गरेको छ।
