बडादसैँको महाअष्टमी आज, महागौरीको पूजा गरिँदै

कात्तिक १ । बडादसैँको आठौँ दिन महाअष्टमी पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। यस अवसरमा नवदुर्गाको आठौँ स्वरूप माता महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

धार्मिक मान्यताअनुसार माता महागौरीलाई शान्ति, पवित्रता र शुभताको प्रतीक मानिन्छ। यस दिन दसैँघर तथा पूजाकोठामा विशेष पूजा गरिनुका साथै देशका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

महाअष्टमीको रातलाई कालरात्रि भनिन्छ। यस रात देवी दुर्गा र महाकालीको विशेष पूजा, होम तथा यज्ञ गर्ने परम्परा छ। आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा कतिपय स्थानमा पशुबलि दिने चलन छ भने शाकाहारी परिवारले कुभिन्डो, नरिवललगायत सामग्री चढाएर पूजा गर्ने गर्छन्।

यस दिन नेपाली सेनाले हातहतियारको पूजा गर्ने तथा सर्वसाधारणले सवारीसाधन र औजारको पूजा गर्ने परम्परा पनि छ। दुईदेखि १० वर्षसम्मका बालिकालाई देवीको स्वरूप मानेर पूजा गर्ने कन्या पूजासमेत गरिन्छ।

महाअष्टमीका अवसरमा विभिन्न समुदायमा आ–आफ्नै परम्पराअनुसार विशेष भोज र पारिवारिक जमघट गर्ने चलन छ। शक्ति, साहस र नकारात्मक प्रवृत्तिको अन्त्यको कामना गर्दै यो पर्व हर्षोल्लासका साथ मनाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *