सेयर बजारमा अवैध धन रोक्न कडा निगरानी

असोज ३१ । धितोपत्र बजारमा अवैध धनको प्रवेश रोक्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ग्राहक पहिचान, शङ्कास्पद कारोबारको निगरानी र वित्तीय विवरण प्रतिवेदनसम्बन्धी व्यवस्था कडा बनाएको छ।

बोर्डले ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८३’ जारी गर्दै धितोपत्र व्यवसायी, मर्चेन्ट बैङ्कर र लगानी कम्पनीलगायत सम्बन्धित संस्थालाई जोखिमका आधारमा ग्राहकको वर्गीकरण तथा कारोबारको अभिलेख राख्न निर्देशन दिएको छ।

निर्देशनअनुसार पाँच करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी भएका अथवा वार्षिक १० करोड रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र कारोबार गर्ने लगानी कम्पनी बोर्डमा सूचीकृत हुनुपर्नेछ। ग्राहकलाई उच्च, मध्यम र न्यून जोखिममा वर्गीकरण गरी निगरानी गर्नुपर्ने तथा उच्चपदस्थ व्यक्ति र उनीहरूसँग सम्बन्धित व्यक्तिमाथि विशेष निगरानी राख्नुपर्ने व्यवस्था छ।

एकै दिनमा एकैपटक वा पटकपटक गरी १० लाख रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र कारोबार भए १५ दिनभित्र वित्तीय जानकारी एकाइमा प्रतिवेदन बुझाउनुपर्नेछ। शङ्कास्पद कारोबार वा त्यस्तो प्रयास देखिएमा आवश्यक जाँचबुझ गरी तीन दिनभित्र जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।

निर्देशन कार्यान्वयनका लागि सम्बन्धित संस्थाले छुट्टै एकाइ गठन गरी जिम्मेवार अधिकारी नियुक्त गर्नुपर्नेछ। उल्लङ्घन गर्ने संस्था वा पदाधिकारीलाई कसुरको प्रकृति र गम्भीरताअनुसार १० लाखदेखि पाँच करोड रुपैयाँसम्म जरिबाना, पदबाट हटाउने वा दुवै कारबाही हुन सक्नेछ।

नयाँ निर्देशन लागू भएसँगै २०७६ सालमा जारी गरिएका सम्बन्धित पुराना निर्देशन खारेज भएका छन्। नयाँ व्यवस्थाले शङ्कास्पद वित्तीय गतिविधि नियन्त्रण, लगानीको स्रोत पहिचान र संस्थागत जवाफदेहिता बढाउने लक्ष्य राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *