कात्तिक १ । दसैँमा मासु, मिठाई, चिल्लो खानेकुरा र मदिराको अत्यधिक सेवनले स्वास्थ्यमा समस्या निम्त्याउन सक्ने भन्दै चिकित्सकले खानपानमा सन्तुलन मिलाउन आग्रह गरेका छन्।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार धेरै चिल्लो र नुनयुक्त खाना खाँदा मुटुमा दबाब पर्नुका साथै धड्कन अनियमित हुने र गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ। मुटुरोग, उच्च रक्तचाप, मधुमेह तथा मिर्गौलाका बिरामीले खानपानमा विशेष सावधानी अपनाउनुपर्ने र नियमित औषधि सेवन गर्न नबिर्सनुपर्ने उहाँको सुझाव छ।
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले मदिरा सेवनपछि सवारी चलाउँदा दुर्घटनाको जोखिम बढ्ने बताउँदै अत्यधिक खानपान र बासी तथा सडेगलेका खानेकुरा नखान आग्रह गर्नुभएको छ। मासुसँगै फलफूल, सागसब्जी र सलाद पनि खान उहाँले सुझाव दिनुभएको छ।
फिजिसियन डा. लोचन कार्कीले मधुमेह भएका व्यक्तिलाई गुलियो र उच्च रक्तचाप भएकालाई नुनको मात्रा घटाउन सुझाव दिनुभएको छ। उमेर बढ्दै जाँदा पाचन क्षमता र स्वास्थ्य अवस्थाअनुसार खानेकुराको मात्रा मिलाउनुपर्ने उहाँको भनाइ छ। रक्ती, भुटन र कबाबजस्ता परिकार तयार गर्दा राम्रोसँग सफा गरी पूर्ण रूपमा पकाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ।
पोषणविद् डा. उमा कोइरालाले मासु एकैपटक धेरै खाने, लामो समय बासी राख्ने वा राम्ररी नपकाई खाने बानीले खाद्यजन्य सङ्क्रमणको जोखिम बढाउने बताउनुभएको छ। उहाँले ताजा खाना खाने, उचित तरिकाले भण्डारण गर्ने र पर्याप्त पानी तथा फलफूल सेवन गर्न सुझाव दिनुभएको छ।
चिकित्सकका अनुसार चाडपर्वमा मनपर्ने परिकार खान सकिए पनि मात्रा, सरसफाइ र आफ्नो स्वास्थ्य अवस्थालाई ध्यानमा राख्नु आवश्यक छ।
