असोज ३१ । प्रधानमन्त्री वालेन्द्र शाहले बडादसैँका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै सत्य, सदाचार र सुशासनको बाटोमा अघि बढ्न आग्रह गर्नुभएको छ।
दसैँको शुभकामना सन्देश जारी गर्दै उहाँले यस पर्वले स्वदेश तथा विदेशमा रहेका नेपालीबीच एकता, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभएको छ। टीका र जमरा ग्रहण गर्ने परम्पराले ठूलालाई आदर र सानालाई माया गर्ने नेपाली संस्कार झल्काउने उहाँको भनाइ छ।
प्रधानमन्त्री शाहले रसुवा, नुवाकोट र गोरखालगायतका क्षेत्रमा भएका विपद्का घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। विस्थापित नागरिकको पुनःस्थापनाका लागि सरकारले काम गरिरहेको पनि उहाँले बताउनुभएको छ।
दसैँ असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीक भएको उल्लेख गर्दै उहाँले काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता नकारात्मक प्रवृत्ति त्यागेर सकारात्मक सोच विकास गर्नुपर्नेमा जोड दिनुभएको छ।
रोजगारी र आर्थिक अवसरको अभावमा विदेशिन बाध्य नेपालीको अवस्था बदल्न सामूहिक प्रयास आवश्यक रहेको उहाँको भनाइ छ। आर्थिक अभावका कारण कसैका लागि पनि दसैँ बोझ बन्न नहुने उल्लेख गर्दै उहाँले देशको समृद्धि, नागरिकको सहज जीविकोपार्जन र सुशासनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।
उहाँले सबै नेपालीलाई आपसी सद्भाव कायम राख्दै सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गर्नुभएको छ।
