असोज ३० । बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज देशभर कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। आश्विन शुक्ल षष्ठीका दिन देवीको पूजा गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।
पौराणिक मान्यताअनुसार कात्यायन ऋषिको आश्रममा देवीले कुमारीका रूपमा अवतार लिएकाले उहाँको नाम कात्यायनी रहेको हो। नवरात्रका नौ दिन दुर्गाका नौ स्वरूपको पूजा गर्ने परम्पराअनुसार आज छैटौँ देवीको आराधना गरिन्छ।
नवरात्रमा घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती, श्रीमद्देवी भागवतलगायत धार्मिक ग्रन्थ पाठ गर्ने चलन छ। यस अवसरमा देशभरका शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।
काठमाडौँ उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, नक्साल भगवतीलगायत मन्दिर तथा उपत्यकाबाहिरका मनकामना, पाथीभरा, बडीमालिका, शैलेश्वरी र बागलुङ कालिकालगायत शक्तिपीठमा भक्तजनले पूजा आराधना गरिरहेका छन्।
नवरात्रका नौ दिन पूजा गरिएको प्रसादस्वरूप टीका र जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने परम्परा छ। कतिपय परिवारमा भने कुल परम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका लगाउने चलन रहेको छ।
