कात्तिक १७ गते । नेपाल आयल निगमले देशभर सञ्चालनमा रहेका एलपी ग्यास उद्योगलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ। हाल नेपालमा विभिन्न नाम र ब्रान्डमा ५९ वटा ग्यास उद्योग सञ्चालनमा छन्।
निगमले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै मर्जरलाई प्रोत्साहन गर्न र कार्ययोजना बनाएर प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।
निगमका अनुसार एउटै उद्योगका विभिन्न ब्रान्डका सिलिन्डर प्रयोग हुँदा उपभोक्तालाई साट्न समस्या हुने गरेको छ। यसले बिक्री वितरण प्रणालीलाई व्यवस्थित र उपभोक्तामैत्री बनाउन मर्जर आवश्यक रहेको निगमको भनाइ छ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले सरकारको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो। उहाँले उद्योग गाभ्दा लाग्ने करमा सहुलियत दिनुपर्ने मागसमेत गर्नुभएको छ।
यसअघि एचपी र त्रिवेणी ग्यास उद्योग गाभिएर एचपी ब्रान्डमा सञ्चालन भइरहेको छ। पछिल्लो समय नेपाल ग्यास र एचपी ग्यास तथा राजधानी, नेपाल र गण्डकी ग्यास उद्योगले पनि गाभिन निगममा आवेदन दिएका छन्।
