२०४६ देखि कांग्रेस राजनीतिमा सक्रिय देउवा अब जिल्ला नेतृत्वको दौडमा

मंसिर ५
कञ्चनपुर – नेपाली कांग्रेस कञ्चनपुरका युवा नेता दिलबहादुर देउवा यसपटक पार्टीको जिल्ला उपसभापति पदमा उम्मेदवारी दिने तयारीसहित चुनावी मैदानमा उत्रिएका छन्। लामो राजनीतिक अनुभव, निरन्तर संगठनात्मक सक्रियता, सरल जीवनशैली र इमानदार राजनीतिक छविलाई आफ्नो पहिचान बनाउँदै आएका देउवाले १५औँ महाधिवेशनअन्तर्गत हुने जिल्ला अधिवेशनबाट जिल्ला नेतृत्वको दोस्रो तहको जिम्मेवारी सम्हाल्ने आकांक्षा अघि सारेका हुन्।

‘सादा जीवन, उच्च विचार’लाई राजनीतिक जीवनको मूल मान्यता बनाउँदै आएका देउवा पार्टीको नीति, सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध नेताका रूपमा आफूलाई प्रस्तुत गर्छन्। पदभन्दा संगठन, स्वार्थभन्दा विचार र भाषणभन्दा व्यवहारलाई प्राथमिकता दिँदै कार्यकर्ता तथा सर्वसाधारणसँग निरन्तर जोडिएर काम गर्दै आएको उनको राजनीतिक यात्राको मुख्य विशेषता रहेको छ।

२०४६ सालदेखि नेपाल विद्यार्थी संघमार्फत सक्रिय राजनीतिमा प्रवेश गरेका देउवाले लामो समयदेखि कांग्रेस संगठन निर्माण, पार्टी गतिविधि र सामाजिक क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्। कृष्णपुर नगरपालिकाका स्थानीयसमेत रहेका उनी पार्टी राजनीतिसँगै सामाजिक गतिविधिमा पनि सक्रिय रहँदै आएका छन्।

यसअघि लगातार तीनवटा महाधिवेशनमा जिल्ला सदस्य पदमा प्रतिस्पर्धा गर्दै निर्वाचित भएका देउवाले यसपटक भने आफ्नो राजनीतिक जिम्मेवारी र भूमिकालाई थप विस्तार गर्न उपसभापति पदमा दाबी प्रस्तुत गरेका हुन्। नेपाली कांग्रेस क्षेत्र नम्बर २ कञ्चनपुरका क्षेत्रीय कोषाध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका उनी संगठनभित्रको अनुभवलाई जिल्ला नेतृत्वमा उपयोग गर्ने लक्ष्यसहित अघि बढेका छन्।

यसपटक कांग्रेसभित्र संस्थापन र संस्थापनइतर समूहबीच छुट्टाछुट्टै अधिवेशनको तयारी भइरहेका बेला देउवा संस्थापनइतर समूहबाट जिल्ला उपसभापतिको उम्मेदवारीका लागि सक्रिय देखिएका छन्। उम्मेदवारीको घोषणा तथा दाबी सार्वजनिक गरेसँगै उनी सहकर्मी, अग्रज नेता र कार्यकर्तासँग छलफल तथा भेटघाटमा जुटेका छन्।

देउवाको राजनीतिक प्राथमिकतामा पार्टीभित्रको एकता, संगठनको सुदृढीकरण, कार्यकर्ताको सम्मान र जनतासँग कांग्रेसको सम्बन्धलाई अझ मजबुत बनाउने विषय रहेका छन्। पार्टीभित्र गुटगत दूरी घटाउँदै सबैलाई समेटेर अघि बढ्ने र कांग्रेसलाई जनताको भरोसासँग जोड्ने प्रतिबद्धता उनले व्यक्त गर्दै आएका छन्।

लामो समय संगठनमै बिताएका, पटक–पटक जिल्ला सदस्यको जिम्मेवारी निर्वाह गरेका र क्षेत्रीय तहमा समेत काम गरिसकेका देउवाको यसपटकको उपसभापति दाबीलाई उनको राजनीतिक यात्राको नयाँ चरणका रूपमा हेरिएको छ।

पद प्राप्तिलाई मात्र लक्ष्य नभई इमानदारी, निष्ठा, विचार र संगठनप्रतिको जिम्मेवारीलाई राजनीतिक जीवनको आधार मान्ने देउवाले यसपटक जिल्ला नेतृत्वमा आफ्नो भूमिका विस्तार गर्ने प्रयास थालेका छन्। अब उनको उम्मेदवारीले कञ्चनपुर कांग्रेसभित्र संगठन, एकता र नेतृत्वको बहसलाई थप अगाडि बढाउने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *