खेमराज भट्ट, मंसिर १
काठमाडौं – सवारी साधनको स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने तथा ध्वनि प्रदूषण बढाउने मोटरसाइकलमाथि काठमाडौं उपत्यका ट्राफिक प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको छ। नियमविपरीत साइलेन्सर तथा अन्य पार्टपुर्जा परिवर्तन गरी सञ्चालन गरिएका ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयअन्तर्गत ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष अभियानका क्रममा ती मोटरसाइकल नियन्त्रणमा लिइएका हुन्। कम्पनीले निर्धारण गरेको मापदण्डविपरीत साइलेन्सर परिवर्तन गर्ने, अत्यधिक आवाज निकाल्ने र सवारीको मौलिक स्वरूप बिगारेर सडकमा सञ्चालन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्रहरीले अभियानलाई प्राथमिकता दिएको जनाएको छ।
नियन्त्रणमा लिइएका मोटरसाइकलका चालक तथा सवारी धनीलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको छ। कारबाहीको क्रममा सम्बन्धित मोटरसाइकललाई कम्पनीले निर्धारण गरेको मूल स्वरूपमा फर्काउन लगाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
ट्राफिक प्रहरीका अनुसार मोटरसाइकलको स्वरूप परिवर्तन गरी अनावश्यक रूपमा चर्को आवाज निकाल्दा ध्वनि प्रदूषण बढ्नुका साथै सडकमा आवतजावत गर्ने सर्वसाधारण, पैदलयात्री, ज्येष्ठ नागरिक, बालबालिका तथा अन्य सवारी चालकलाई समेत असहज हुने गरेको छ। यस्तो गतिविधिले सहरी वातावरण र सडक अनुशासनमा समेत नकारात्मक असर पार्ने भएकाले नियन्त्रण अभियानलाई निरन्तरता दिइएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेको निर्देशन तथा नेतृत्वमा ट्राफिक प्रहरीले सवारी व्यवस्थापन, सडक सुरक्षा र ध्वनि प्रदूषण नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी धनी तथा चालकलाई कम्पनीले निर्धारण गरेको मापदण्डअनुसार नै सवारी साधन सञ्चालन गर्न आग्रह गरेका छन्। उनले गैरकानुनी रूपमा साइलेन्सर तथा अन्य पार्टपुर्जा परिवर्तन गरी सवारीको स्वरूप नबिगार्न र नियमको पालना गर्न अनुरोध गरेका छन्।
ट्राफिक प्रहरीको यो अभियानले सडकमा चर्को आवाज निकालेर सर्वसाधारणलाई सास्ती दिने प्रवृत्तिमाथि नियन्त्रण गर्न तथा सवारी अनुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रहरीले नियम उल्लङ्घन गर्ने सवारी साधनमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
सडकमा स्वतन्त्रता सबैलाई छ, तर अरूको शान्ति र सुरक्षामा असर पार्ने गरी सवारी सञ्चालन गर्ने छुट कसैलाई छैन भन्ने सन्देश ट्राफिक प्रहरीको यस अभियानले दिएको छ।
