अधूरो धुन’ मार्फत नेपाली लोकसंस्कृति जोगाउने अभियानमा ललित थारु

मङ्सिर ९
काठमाडौं – नेपाली मौलिक कला, साहित्य, लोकसंस्कृति र सिर्जनशील प्रतिभाको प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिता बढ्दै गएको छ। यही सकारात्मक प्रयासमा कैलालीका युवा उद्यमी तथा गार्मेन्ट व्यवसायी ललित डगौरा थारु पनि जोडिनुभएको छ। नेपाली लोकसंस्कृति र सांस्कृतिक पहिचानलाई चलचित्रमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले निर्माण हुन लागेको चलचित्र ‘अधूरो धुन : समयको सारङ्गी’मा उहाँ सह–निर्माताका रूपमा आबद्ध हुनुभएको हो।

कैलालीको लम्कीचुहा नगरपालिका-८ स्थायी घर भएका थारुले व्यक्तिगत रूपमा चलचित्रको सह-निर्माणको जिम्मेवारी लिनुभएको छ। साथै, उहाँको कम्पनी ‘बर्डगोरिया बाबा गार्मेन्ट उद्योग प्रा.लि. चलचित्रको व्यावसायिक साझेदारका रूपमा समेत जोडिएको छ।

स्वदेशमै उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आर्थिक गतिविधिमा योगदान पुर्‍याइरहनुभएका थारुले व्यवसायलाई आर्थिक आम्दानीको माध्यममा मात्र सीमित नराखी नेपाली कला, साहित्य र संस्कृतिको संरक्षणमा समेत आफ्नो भूमिका विस्तार गर्न खोज्नुभएको देखिन्छ। युवा निर्माता तथा कलाकार अमृत थापाको नेतृत्वमा अघि बढिरहेको सिर्जनात्मक अभियानलाई साथ दिन उहाँ चलचित्र क्षेत्रमा जोडिनुभएको हो।

चलचित्र निर्माणमा सहकार्य गर्नुको उद्देश्यबारे थारुले युवा पुस्ताले नेपाली मौलिकता, भाषा, संस्कृति र कलाको संरक्षणका लागि गरिरहेका प्रयासलाई प्रोत्साहन गर्नु आफ्नो चाहना रहेको बताउनुभयो। उहाँले कैलाली, धनगढी, सुदूरपश्चिमसहित समग्र देशको साहित्य, कला तथा चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको पनि सकारात्मक सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको छ।

उहाँको भनाइमा, नयाँ पुस्ताको सिर्जनालाई आर्थिक तथा नैतिक रूपमा हौसला दिन सके नेपाली मौलिक कला र संस्कृतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्ने अवसर पाउन सक्छ। त्यसैले चलचित्रमा जोडिनुलाई उहाँले व्यावसायिक सहकार्यसँगै सामाजिक तथा सांस्कृतिक उत्तरदायित्व निर्वाह गर्ने अवसरका रूपमा लिनुभएको छ।

वेदप्रसाद भुर्तेलको कथा, पटकथा तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्रले नेपाली लोकजीवन, सांस्कृतिक पहिचान र सारङ्गीको भावनात्मक धुनलाई आधुनिक सिनेम्याटिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। चलचित्रमा अमृत थापा, आहना शाक्य, विनय ढुङ्गाना, प्रसिद्ध दाहाल, टीकाराम कौले, रत्न विष्टलगायत कलाकारहरूको अभिनय रहनेछ।

निर्माण पक्षका अनुसार चलचित्रका गीतहरूको अन्तिम चरणको लाइभ इन्स्ट्रुमेन्ट रेकर्डिङ भइरहेको छ। चलचित्रको छायाङ्कन धनगढीदेखि पश्चिम नेपालका विभिन्न रमणीय तथा सांस्कृतिक महत्त्व बोकेका स्थानहरूमा गरिने तयारी छ।

स्थानीय प्रतिभा, मौलिक संस्कृति र सिर्जनशील अभियानलाई निजी क्षेत्रको साथ प्राप्त हुनु सुदूरपश्चिमको कला तथा चलचित्र क्षेत्रका लागि पनि उत्साहजनक पक्ष हो। व्यवसाय, संस्कृति र सिर्जनालाई एकै सूत्रमा जोड्ने यस्ता सहकार्यले स्थानीय पहिचानलाई राष्ट्रिय मञ्चसम्म पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *