खेमराज भट्ट, मंसिर ६
काठमाडौ – भारतबाट मधेश प्रदेश हुँदै काठमाडौं उपत्यकासम्म खैरो हेरोइन (ब्राउन सुगर) ल्याई बिक्री वितरण गर्दै आएको भनिएको लागुऔषध कारोबारको नेटवर्कमाथि प्रहरीले कारबाही गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर काठमाडौंले सञ्चालन गरेको विशेष कारबाहीका क्रममा ३९४ ग्राम १०० मिलिग्राम खैरो हेरोइन र २ लाख ५४ हजार रुपैयाँ नगदसहित ९ जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार लागुऔषध कारोबार हुन सक्ने जोखिमयुक्त स्थान, शंकास्पद गतिविधि तथा कारोबारमा संलग्न व्यक्तिहरूको निगरानी र सूचनाको विश्लेषणपछि मंसिर ३ गतेदेखि विशेष अनुसन्धान तथा कारबाही अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा भारतबाट लागुऔषध ल्याई मधेश प्रदेशका धनुषा र सिराहा हुँदै काठमाडौं उपत्यकासम्म आपूर्ति तथा बिक्री वितरण गर्ने सञ्जाल रहेको खुलेको प्रहरीले जनाएको छ। सोही क्रममा काठमाडौं उपत्यका र सिन्धुलीका विभिन्न स्थानबाट ९ जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुरका ४२ वर्षीय रञ्जन थापा, सिन्धुली कमलामाईका ३४ वर्षीय देवराज बम्जन, २२ वर्षीय निशान बम्जन र ३२ वर्षीय विशाल मोक्तान रहेका छन्।
त्यस्तै काठमाडौं चन्द्रागिरिका ३५ वर्षीय पदमबहादुर तिमिल्सिना, धनुषा क्षीरेश्वरनाथका ५५ वर्षीय लक्ष्मण पण्डित दास तत्मा, तनहुँ भानुका २८ वर्षीय शैलेन्द्र बजगाईं, गोरखा शहीद लखनका २५ वर्षीय सिजन रेग्मी र सिराहा नवराजपुरका विवेककुमार साह पनि पक्राउ परेका छन्।
प्रहरीले उनीहरूको साथबाट ३९४.१० ग्राम खैरो हेरोइन, डिजिटल तौल मेसिन दुई थान, नगद २ लाख ५४ हजार रुपैयाँ र मोबाइल फोन ९ थान बरामद गरेको छ।
ब्यूरोका अनुसार पक्राउ परेका विशाल मोक्तान सिन्धुलीमा बसेर भारतीय लागुऔषध कारोबारीसँग सम्पर्क गरी लागुऔषध ल्याउने तथा आफ्नो नेटवर्कमार्फत बिक्री वितरण गर्ने गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसअघि रञ्जन थापाविरुद्ध प्रहरी वृत्त मालीगाउँमा २०८३ असार १९ गते २६२.६२ ग्राम खैरो हेरोइनसम्बन्धी मुद्दा दर्ता भएको र उनी फरार रहेको विवरणसमेत ब्यूरोले सार्वजनिक गरेको छ।
विशाल मोक्तानलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बुझाइएको ब्यूरोले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले मंसिर ६ गते जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो।
