सुर्खेत, मङ्सिर १० । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटमा लुम्बिनी प्रदेश समूह चरणबाटै बाहिरिएको छ। बिहीबार भएको आफ्नो दोस्रो खेलमा मधेश प्रदेशसँग पराजित भएपछि लुम्बिनीको प्रतियोगितामा यात्रा टुङ्गिएको हो।
वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित खेलमा सात विकेट गुमाएर ७९ रन बनाएको थियो। लुम्बिनीका लागि ओपनर ऋतु रावलले ५६ बलमा पाँच चौकासहित अविजित ४१ रन बनाउनुभयो। सिमा थापाले १० रन जोड्नुभयो।
अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। मधेशकी सुस्मिता यादवले चार ओभरमा २० रन खर्चेर चार विकेट लिनुभयो। रोजी कडारीले दुई तथा कप्तान पूजा महतोले एक विकेट हात पार्नुभयो।
८० रनको लक्ष्य मधेशले १२.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो। मधेशकी ओपनर एलिषा यादवले ३६ बलमा आठ चौकासहित ४२ रन बनाउनुभयो। कप्तान पूजा महतोले १५ र अनुराधा चौधरीले सात रनको योगदान दिनुभयो।
लुम्बिनीका सरु तिवारीले तीन तथा सुस्मिता भुषाल र सरस्वती पुनले समान एक विकेट लिनुभयो। चार विकेटसहित बलिङमा प्रभावशाली प्रदर्शन गरेकी मधेशकी सुस्मिता यादव प्लेयर अफ द म्याच घोषित हुनुभयो।
लुम्बिनी यसअघि आफ्नो पहिलो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग पनि पराजित भएको थियो। लगातार दुई हारसँगै टोली समूह चरणबाटै बाहिरिएको हो।
