एनएनएसडब्ल्यूए र वर्ल्ड भिजनको ४८ लाखभन्दा बढीको सहयोगमा सरस्वती विद्यालयमा बाल तथा अपाङ्गतामैत्री भवन निर्माण

हेमा भट्ट, मंसिर ११
कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका-९, पिपरियास्थित श्री सरस्वती आधारभूत विद्यालयमा बाल तथा अपाङ्गतामैत्री, भूकम्प तथा विपद् प्रतिरोधी दुईकोठे नयाँ विद्यालय भवन निर्माण गरी औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) कञ्चनपुर र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा कृष्णपुर नगरपालिकाको समन्वयमा निर्माण गरिएको उक्त भवन बिहीबार एक विशेष समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो।

सौहार्द र सुरक्षित विद्यालय वातावरण विकासका लागि सञ्चालन गरिएको पाठशाला परियोजनाअन्तर्गत निर्माण भएको भवन हस्तान्तरण समारोह कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा नगर उपप्रमुख द्रौपती राना, कृष्णपुर नगरपालिका-९ का वडा अध्यक्ष कैलाश बलायर, वडा नम्बर ५ का अध्यक्ष टेक पाण्डे, कार्यपालिका सदस्य कालिका चौधरी, एनएनएसडब्ल्यूए कञ्चनपुरका जिल्ला अध्यक्ष माया सार्की, कार्यकारी निर्देशक अशोक विक्रम जैरु, महासचिव रूपा कौशल परियार, वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक सुरज शर्मा, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्रप्रसाद भट्ट, जानकी सामुदायिक वनका अध्यक्ष चन्द्रप्रकाश भट्टलगायत जनप्रतिनिधि, सहयोगी संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा नगर प्रमुख ओझाले ब्यानर वाचन गरी रिबन काटेर नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो भने औपचारिक रूपमा विद्यालयलाई हस्तान्तरण गरिएको थियो।

२०८२ फागुन १५ गते निर्माण कार्य थालनी भई २०८३ साउन ४ गते सम्पन्न भएको उक्त दुईकोठे भवन निर्माणमा १३ प्रतिशत मूल्य अभिवृद्धि करसहित ४० लाख ४३ हजार ५४१ रुपैयाँ खर्च भएको हस्तान्तरण पत्रमा उल्लेख छ। भवन बालबालिका तथा अपाङ्गता भएका विद्यार्थीका लागि सहज पहुँच र सुरक्षित वातावरण सुनिश्चित गर्ने उद्देश्यले निर्माण गरिएको हो। भवन निर्माणसँगै विद्यालयको शैक्षिक तथा भौतिक वातावरण सुधारका लागि विभिन्न सामग्री र व्यवस्थापनमा समेत सहयोग गरिएको छ। हस्तान्तरण विवरणअनुसार प्रारम्भिक बाल विकाससम्बन्धी सामग्री किट खरिदमा ४० हजार ४०८ रुपैयाँ ३० पैसा, कक्षाकोठा बसाइ व्यवस्थापनअन्तर्गत कार्पेट, राउन्ड टेबल, बुक र्‍याकलगायत सामग्रीमा २ लाख ३ हजार ६९३ रुपैयाँ ८० पैसा, खेलकुद सामग्रीमा ५७ हजार ५२८ रुपैयाँ ३० पैसा, कलात्मक भित्तेलेखनमा ४६ हजार २०० रुपैयाँ, स्मार्ट बोर्ड खरिदमा १ लाख ८५ हजार रुपैयाँ, पुरानो भवनको रंगरोगनमा २ लाख ७ हजार ५६७ रुपैयाँ तथा कथा-
कथासम्बन्धी सामग्रीमा ६० हजार रुपैयाँ खर्च गरिएको छ। यी अतिरिक्त शैक्षिक तथा व्यवस्थापन सामग्रीमा कुल ८ लाख ३९७ रुपैयाँ ४० पैसा खर्च भएको विवरण सार्वजनिक गरिएको छ। यसरी भवन निर्माण र अन्य शैक्षिक सामग्री तथा व्यवस्थापनमा गरी कुल ४८ लाख ४३ हजार ९३८ रुपैयाँ ४० पैसा बराबरको सहयोग विद्यालयले प्राप्त गरेको देखिन्छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख हेमराज ओझाले विद्यालयको भौतिक संरचना निर्माण हुनु मात्रै विकासको पूर्णता नभई त्यसको संरक्षण, सदुपयोग र शैक्षिक उपलब्धिमा देखिने सुधार वास्तविक उपलब्धि हुने बताउनुभयो। उहाँले नयाँ भवन प्राप्त भएपछि विद्यालय परिवारले त्यसको नियमित रेखदेख तथा मर्मतसम्भारमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै विद्यालयमा विद्यार्थी संख्या बढाउनेतर्फ पनि सक्रिय हुन आग्रह गर्नुभयो। बालबालिकालाई सुरक्षित र आकर्षक वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्नुपर्ने बताउँदै उहाँले शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार र समुदायबीच निरन्तर छलफल तथा सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो। शिक्षा क्षेत्रलाई समयअनुसार अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिँदै उहाँले गुणस्तरीय शिक्षासँगै विद्यार्थीको स्वास्थ्य, सरसफाइ, सुरक्षा, प्रविधिमैत्री सिकाइ र समग्र व्यक्तित्व विकासलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, भौतिक संरचना निर्माण हुनु महत्वपूर्ण उपलब्धि हो, तर यसको संरक्षण गर्दै विद्यार्थी संख्या बढाउनु र गुणस्तरीय शिक्षा प्रदान गर्नु अझ महत्वपूर्ण जिम्मेवारी हो। विद्यालयको विकासका लागि शिक्षा, स्वास्थ्य र बालबालिकाको भविष्यसँग जोडिएका विषयमा नियमित छलफल गरौँ। समयअनुसार शैक्षिक गतिविधि र प्रविधिलाई पनि अद्यावधिक गर्दै लैजानुपर्छ। नगर प्रमुख ओझाले स्थानीय तहको विकास योजनामा शिक्षा क्षेत्रलाई प्राथमिकता दिँदै आवश्यक समन्वय र सहयोगका लागि नगरपालिका सकारात्मक रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि वडा नम्बर ९ का अध्यक्ष कैलाश बलायरले विद्यालयको आवश्यकता र विद्यार्थीको सुविधालाई ध्यानमा राखेर निर्माण गरिएको बाल तथा अपाङ्गतामैत्री भवनले पिपरिया क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विद्यालयमा सुरक्षित र व्यवस्थित पूर्वाधार निर्माण हुनु स्थानीय समुदायका लागि खुसीको विषय भएको बताउँदै सहयोगी संस्थाहरूले शिक्षा क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभयो। वडा अध्यक्ष बलायरले भवन निर्माणसँगै त्यसको उचित संरक्षण, विद्यार्थीको नियमित उपस्थिति, शैक्षिक गुणस्तर सुधार र विद्यालयप्रतिको अभिभावकको विश्वास बढाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो। विद्यालयको आवश्यकता पहिचान गरी स्थानीय सरकार र वडाबाट गर्न सकिने विकास योजना तथा सहयोगका लागि आवश्यक समन्वय र सहकार्य निरन्तर रहने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा एनएनएसडब्ल्यूए कञ्चनपुरका जिल्ला अध्यक्ष माया सार्की, कार्यकारी निर्देशक अशोक विक्रम जैरु, महासचिव रूपा कौशल परियार तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालका जिल्ला संयोजक सुरज शर्मालगायतले विद्यालयमा सुरक्षित, समावेशी र बालमैत्री वातावरण निर्माण गर्नु परियोजनाको महत्वपूर्ण उद्देश्य रहेको धारणा राख्नुभएको थियो। उहाँहरूले बालबालिकाले विभेदरहित, सुरक्षित र सहज वातावरणमा अध्ययन गर्न पाउने अधिकार सुनिश्चित गर्न विद्यालयको भौतिक संरचनासँगै शैक्षिक सामग्री, सिकाइ व्यवस्थापन र समुदायको सहभागितालाई पनि महत्व दिनुपर्ने बताउनुभयो। विद्यालयको शैक्षिक विकास र बालबालिकाको सिकाइ उपलब्धिमा सकारात्मक परिवर्तन ल्याउन सहयोगी संस्था, स्थानीय सरकार र विद्यालयबीचको सहकार्य महत्वपूर्ण हुने उहाँहरूको भनाइ थियो।

विद्यालयका प्रधानाध्यापक धनबहादुर नेपालीले विद्यालयलाई नयाँ भवन तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन आर्थिक र प्राविधिक सहयोग गर्ने एनएनएसडब्ल्यूए र वर्ल्ड भिजन इन्टरनेशनल नेपालप्रति विशेष आभार व्यक्त गर्नुभयो। उहाँले विद्यालयको भौतिक पूर्वाधारमा थपिएको यो संरचना विद्यार्थीका लागि सुरक्षित र सहज अध्ययन वातावरण निर्माण गर्ने महत्वपूर्ण उपलब्धि भएको बताउँदै प्राप्त सहयोगलाई केवल भवन निर्माणका रूपमा नभई बालबालिकाको भविष्य निर्माणमा गरिएको लगानीका रूपमा लिएको उल्लेख गर्नुभयो। उहाँले निर्माण तथा व्यवस्थापनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने स्थानीय सरकार, जनप्रतिनिधि, सहयोगी संस्था, शिक्षक, अभिभावक, निर्माणमा संलग्न पक्ष र सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिँदै भवन तथा शैक्षिक सामग्रीको संरक्षण, सदुपयोग र शैक्षिक उपलब्धि वृद्धि गर्नु विद्यालय परिवारको प्रमुख जिम्मेवारी हुने बताउनुभयो।

हस्तान्तरण पत्रअनुसार नवनिर्मित भवन तथा परियोजनाअन्तर्गत उपलब्ध गराइएका संरचना र सामग्रीको स्वामित्व तथा संरक्षणको जिम्मेवारी विद्यालय व्यवस्थापन पक्षले ग्रहण गरेको छ। विद्यालयले आगामी दिनमा भवनको नियमित रेखदेख, मर्मतसम्भार, सञ्चालन तथा उपलब्ध शैक्षिक सामग्रीको उचित सदुपयोग गर्ने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्रप्रसाद भट्ट, जानकी सामुदायिक वनका अध्यक्ष चन्द्रप्रकाश भट्टलगायत स्थानीय अगुवा तथा समाजसेवीहरूले पनि सहयोगी संस्थाको योगदानको प्रशंसा गरेका थिए। समारोहमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरी अतिथि तथा सहभागीलाई स्वागत गरेका थिए। नयाँ भवन उद्घाटन तथा हस्तान्तरणसँगै विद्यालयको भौतिक पूर्वाधारमा महत्वपूर्ण उपलब्धि थपिएको छ भने स्मार्ट बोर्ड, बाल विकास सामग्री, खेलकुद सामग्री, व्यवस्थित कक्षाकोठा र अन्य शैक्षिक सहयोगले पठनपाठनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। स्थानीय सरकार, सहयोगी संस्था, विद्यालय र समुदायबीचको सहकार्यबाट प्राप्त यस उपलब्धिलाई दीर्घकालीन शैक्षिक सुधारमा रूपान्तरण गर्दै विद्यार्थी संख्या वृद्धि, नियमित पठनपाठन, समावेशी शिक्षा र गुणस्तरीय सिकाइ सुनिश्चित गर्नु अब विद्यालय तथा समुदायको साझा जिम्मेवारी बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *