विगतका दुई वर्ष कोरोना महामारीका कारण सुस्ताएको धार्मिक पर्यटन म्याग्दीमा पुरानै लयमा फर्किन थालेको छ । पश्चिम नेपालको पशुपतिनाथका नामले चर्चित म्याग्दीको प्रसिद्ध गलेश्वरधाममा साउन महिनामा मात्र सवा लाख धार्मिक पर्यटक आएका र अन्तिम सोमबार एकैदिन ३० हजारभन्दा बढी भक्तजनले दर्शन तथा पूजाआजा गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । बेनी नगरपालिका–९, गलेश्वरस्थित रहेको गलेश्वर धाम पछिल्लो समय धार्मिक पर्यटकको आकर्षकस्थल बनेको उहाँको भनाइ छ । यसवर्ष साउन महिनामा पाँच सोमबार परेकोमा गलेश्वरमा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन, नवलपुर, नवलपरासी, बुटबल, भैरहवा, काठमाडौं, नेपालगञ्ज, वर्दिया र बझाङ जिल्लाबाट भक्तजन दर्शन गर्न आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । साउने सोमबारमा गलेश्वर शिवालयमा भक्तजनलाई लक्षित गरेर विभिन्न १९ उपसमिति गठन गरी उनीहरुलाई सहज रुपमा पूजाअर्चना गर्ने व्यवस्थापन मिलाइएको थियो । अन्तिम सोमबार विगतका चार सोमबारमा भन्दा पनि सबैभन्दा धेरै भक्तजनले मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका थिए । पाँच सोमबार पर्नुका साथै गएको दुई वर्ष कोरोनाको कारणले पूजाअर्चना गर्न नपाएका भक्तजनले यसवर्ष गलेश्वर पुगेर पूजा गरेका छन् । यसवर्ष अन्तिम सोमबार म्याग्दीसहित देशका विभिन्न जिल्लाबाट ३० हजारभन्दा बढी भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । पछिल्लोपटक गलेश्वर क्षेत्रमा भक्तजनलाई लक्षित गरेर विभिन्न धार्मिक पूर्वाधार निर्माण गरिएपछि मन्दिरमा दर्शन तथा पूजाआजा गर्न आउने भक्तजनको सङ्ख्यामा वृद्धि भएको छ । बेनीका महिला उद्यमी हिराँदेवी कँडेलले मनोकामनासहित परिवारमा सुख, शान्तिको कामना गर्दै गलेश्वरको दर्शन गरेको अनुभव सुनाउनुभयो । प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पछिल्लोपटक ११ गौमुखी धारा जडान गरिएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गङ्गाजलले स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुँदै गएको छ । मन्दिरमा सङ्कलित भेटी पूर्वाधार विस्तार, ज्येष्ठ नागरिक तथा कर्मचारी व्यवस्थापनसहित विभिन्न धार्मिक कार्यमा खर्च गर्ने गरिन्छ । साउने सोमबार हिन्दू महिलाको लागि विशेष दिन मानिन्छ । यस दिन महिला ब्रत बस्ने र शिव मन्दिरमा पुगेर पूजा गर्ने गर्छन् । देशैभरका शिव मन्दिरमा साउने सोमबारको दिन बिहानैदेखि खासगरी ब्रतालु महिलाको भीड लाग्ने गर्दछ । साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार ब्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकाले महिला बिहानै शिवालय मन्दिर पुग्ने गर्दछन् । साउन महिना र सोमबारलाई भगवान् महादेव (शिव)को प्रिय महिनाको रुपमा पनि मानिन्छ । पवित्र कृष्णागण्डकीबाट उठेर नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । सत्ययुगमा सतीदेवीले अग्नीकुण्डमा हाम फालेर देहत्याग गरेपछि उनको मृत शरिर बोकेर शिव महादेवले पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । बगरफाँटका धारामा पानी आएन म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको एउटा गाउँका बासिन्दा खानेपानीको अभावमा विगत दुई महिनादेखि काकाकुलको नियति भोग्न बाध्य भएका छन् । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँमा रहेका २८ धारामा गत जेठ अन्तिम सातादेखि पानी नआएपछि स्थानीय खोला र कुवाको दुषित पानी पिउन वाध्य भएका हुन् । जेठ २८ गते मरुवा र उपल्लो खन्ना क्षेत्रबाट खसेको पहिरो र बाँगे छहरोमा आएको बाढीले खानेपानीको पाइन लाइन र दुधेखोलाको मुहान् बगाइदिएपछि बगरफाँटमा खानेपानीको समस्या भएको स्थानीयले बताएका छन् । पहिराले खानेपानीको मुहान र पाइपलाइन बगाएपछि नयाँ पाइप हालेर केही दिन पानी सञ्चालन गरिएको भए पनि पुनःअसार पहिलो हप्ता दुधेखोलाको बाढीले पानीको मुहान र ट्याङ्कीमा क्षति पु¥याएपछि यहाँका दुई सय आठ घर परिवारलाई खानेपानीको समस्या भएको हो । गाउँमा रहेका २८ धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटका ललितबहादुर कार्कीले बताउनुभयो । दुई सय १४ घरधुरी रहेको बगरफाँटमा दुई महिनादेखि खानेपानीको समस्या हुँदासमेत कुनै वैकल्पिक व्यवस्था हुन नसक्दा यहाँका बासिन्दा ठूलो समस्यामा परेका स्थानीयले बताएका छन् । विसं २०६९ मा बेनी नगरपालिका–३ भकिम्ली र बेनपा–२ ज्यामरुककोटको सिमानामा पर्ने कोप्रे खोलाको मुहानबाट पानी ल्याई बगरफाँटका २८ धारामा वितरण गरिएको थियो । रु ५४ लाखको लागतमा बगरफाँट खानेपानी तथा सरसफाइ आयोजनाले योजना सम्पन्न गरी गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको थियो । त्यसपछि वर्षेनी बर्खाको समयमा बाढीपहिराले पाइपलाइनलाई क्षति पु¥याउँदा मर्मत गरी पानी सञ्चालन गर्ने गरिएको थियो । बगरफाँट खानेपानी तथा सरसरफाइ आयोजनाका हेरालु हरि कार्कीले असोज लागेपछि मात्र नियमितरुपमा पानी सञ्चालन गर्न सकिने र त्यसअघि बाढीपहिराको जोखिम रहने हुँदा नियमित पानी सञ्चालन गर्न कठिन हुने बताउनुभयो । खानेपानीको समस्याका कारण बगरफाँटको दुई सय १४ घरधुरीका एक हजार दुई सय भन्दा बढी जनता प्रत्यक्षरुपमा प्रभावित भएका छन् । खोला र कुवाको प्रदूषित पानी खाएकै कारण यहाँका बालबालिका र वृद्धवृद्धामा विभिन्न किसिमका स्वास्थ्य समस्या देखिएका छन् । –––